साउदीमा २७४ जना राप्रपा प्रवेश
साउदी : साउदी अरेबियामा २७४ जना राप्रपा प्रवेश गरेका छन्। नेपाली एकता समाज (पानस) साउदीको प्रथम वार्षिकोत्सव कार्यक्रममा २७४ जना राप्रपामा प्रवेश गरेका हुन्।
साउदी अरेबियाको रियाद सहरमा सम्पन्न गरेको कार्यक्रममा ८ सयभन्दा बढीको सहभागिता थियो। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख अतिथित्य तथा विभाग प्रमुख आनन्द अधिकारीको उपस्थितिमा पार्टी प्रवेश गर्ने विभिन्न भ्रातृसंगठन सदस्य, नेपाली कामदारलाई सम्मानसहित स्वागत गरिएको थियो।
कार्यक्रममा पानस साउदीले संगठनले गरेका संगठनात्मक, सामाजिक कार्य तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थियो। कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले नेपालको राजनीतिक अवस्था चिन्ताजनक तथा राज्यको चालु खर्चको अवस्था गम्भीर रहेको बताए।
एउटा ठूलो र अर्को भौगोलिक दृष्टिकोणले नेपाल २ भागमा रहेको बताए। लिङ्देनले श्रमिकहरूको आवाज उठाउँदै साउदी लगायत खाडी मुलुकमा रहेका नेपाली श्रमिक समस्या, अध्यागमन समस्या, नेपाली दूतावासको कदम, परराष्ट्र मन्त्रालय, सरकार को महत्वपूर्ण भूमिका रहेकोले यस सम्बन्धमा सदनमा चर्को रुपले आवाज उठाउने र समाधान तर्फ लाग्ने बताए।
साउदी अध्यक्ष कुबेर हुमागाईंले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिनुको साथै अहिलेसम्म भ्रातृसंगठनको कार्यक्रम नेपाली समुदायको बाक्लो उपस्थिति पहिलो पटक रहेको बताए। संगठनले थप नयाँ योजना सहित संगठनको र नेपाली श्रमिकहरुको हितको लागि काम गर्ने बताए।