बुवा
आकाश जस्तै विशाल र पहरा जस्तै दृढ छाती भएको
मायाको वर्षा नै पोखिदिए पनि
धर्ती सिञ्चित हुन्छिन्, सधैंभरि त्यै आकाशको पानीले
तर पनि बुवा देखिँदैन त्यहाँ भार खेपेर होला आमाले !
आमाको आँचलले छोपिदिएको छ बुवाको मायालाई
जसरी ग्रहण लाग्दा ढाकिदिन्छ धर्तीले चन्द्रमालाई।
भोक र प्यासमा सधैं तड्पिरहेको हुन्छ बावुको माया
तुवाँलोभित्र कहाँ देख्छन् र सन्तानले बावुको
त्यो अपार छायाँ !
बुझेनौ सन्तानले कति पीडा र वेदना छ त्यो छातीभित्र
सन्तानको भार बोकेर हिँडेको छ बावुले त्यो मनभित्र !
पैतालादेखि शिरसम्म धाजा फाटेका ती डोबहरू त हेर
कहिले नथाक्ने सन्तानका लागि हासिरहेछ निरन्तर।
कहिले नथाक्ने सन्तानका लागि हाँसिरहेछ निरन्तर
बाबुको कलेँटी परेका ओठका आकारहरू !
हाम्रै छायाँ बनेर वाबाले हरदम हाम्रै तृष्णा मेटाए
हाम्रो भविष्य बनाउन वाबा नै हाम्रो जीवन बनेर आए।
नदिले खियाएको ढुंगा झैं कति चोटहरू लुकाए
सन्तानका लागि भनेर वुबाले आफ्नो जीवन बिताए।
हाम्रो उन्नति र प्रगतिको तृष्णामा सधैं भोको बस्ने
सन्तानको खुसीमा सदा झैं दु:ख लुकाएर हाँस्ने
प्यारो बाबा।
आफ्ना इच्छा र आकांक्षा जति छन् सन्तानलाई दिए
सन्तानकै खुसीका लागि कति एकान्तमा आँसु पिए।
बुवा ! नै हाम्रा लागि गुरु अनि कर्मदाता
हाम्रो भविष्य बनाई दिने भाग्य विधाता !
बुवा नै हाम्रो लागि प्रेमको सागर
परमबह्मा अनि भगवान्को अवतार !