विद्यालयमा चट्याङ लागेर आठ विद्यार्थी घाइते, चारको अवस्था गम्भीर
गुल्मी : गुल्मीमा चट्याङ लागेर आठ जना विद्यार्थी घाइते भएका छन्। जिल्लाको मुसिकोट नगरपालिका-६ मा अवस्थित कुर्घा निम्न माध्यमिक विद्यालयका आठ जना विद्यार्थी चट्याङ लागेर घाइते भएका हुन्।
सोमबार दिउँसो तीन बजे विद्यार्थीले पढिरहेको समयमा सिमसिमे पानीसहित अचानक चट्याङ लागेर विद्यार्थी घाइते भएको प्रधानाध्यापक मोतिप्रसाद शर्माले जानकारी दिए।
चट्याङ लागेर ईसा घर्ती, झलका विक, अनुजा विक, अनिसा विक, सिर्जना शर्मा, समीक्षा थापा, बुद्धिमाया नेपाली र कल्पना विक घाइते भएको प्रधानाध्यापक शर्माले बताए।
प्रधानाध्यापक शर्माका अनुसार घाइते भएका आठजना विद्यार्थीमध्ये चार जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते चारजना विद्यार्थीलाई थप उपचारका लागि पाल्पा पठाइएको छ।
सामान्य घाइते भएका अन्य विद्यार्थी नजिकैको स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किसकेका छन्। चट्याङ पर्दा ३५/४० जना विद्यार्थीहरू एउटै कोठामा बसिरहेका थिए। घाइते भएका केही विद्यार्थीको कपाल, टाउको र कम्मर माथिको भाग जलेको छ।