विराटनगरमा राधाकृष्ण रथयात्राको तयारी पूरा, सुरक्षा व्यवस्था कडा
विराटनगर : विराटनगरमा धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको राधाकृष्ण रथयात्राको सबै तयारी पूरा भएको छ ।
विराटनगरको पहिचानसँग जोडिएको रथयात्रा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका भोलिपल्ट निकाल्ने परम्परा छ । हजारौं भक्तजनको उपस्थितिमा राधा र कृष्णको युगल जोडीसहितको रथलाई विराटनगर बजार परिक्रम गराउने चलन छ । बिहीबार निकालिने रथयात्राको सबै तयारी पूरा भएको राधाकृष्ण रथयात्रा समारोह समितिले जनाएको छ ।
विराटनगर महानगरपालिका-१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रालाई भव्य, सभ्य र व्यवस्थित बनाउन विभिन्न १८ वटा उपसमिति गठन गरेर परिचालन गरिएको छ । रथयात्राको अघिल्लो दिन अर्थात बुधबार राधाकृष्ण मन्दिर परिषरमा भक्तजनहरुको घुइँचो लागेको थियो । राधाकृष्ण रथयात्रा मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले रथयात्राका लागि प्यागोडा शैलीको रथलाई सजाउने, सरसफाई गरेर रुट व्यवस्थित बनाउनेलगायत व्यवस्थापनका सबै काम सम्पन्न गरिएको जानकारी दिए । रथको श्रृङ्गारका लागि भारतको कलकत्ताबाट ६ जना कालीगढ झिकाइएको थियो ।
हरेक वर्ष नयाँ ढंगले रथयात्रा निकाल्ने गरिन्छ । रेग्मीका अनुसार रथयात्राका लागि २२ फिट लम्बाइ, १४ फिट चौडाइ र १८ फिट उचाइ भएको रथ तयार पारिएको छ । भक्तजनलाई रथ तान्नका लागि रथको अग्रभागबाट ७५–७५ फिट लम्बाइको दुईवटा डोरी राखिने छ । दायाँतर्फको डोरीबाट पुरुष तथा बायाँतर्फको डोरीबाट महिलाले रथ तान्ने जानकारी रेग्मीले दिए ।
उनका अनुसार दिउँसो ३ बजे राधाकृष्ण मन्दिर परिसरबाट निस्किने रथयात्राको रुट तय भइसकेको छ । विराटनगरको मेनरोड हुँदै गोल्छा चोक, जलजला चोक, ट्राफिक चोक, रोडशेष चोक, बसपार्क, महेन्द्र चोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर रथयात्राको बिसर्जन गरिने छ । रथयात्रका लागि करिब ९ किलोमिटर दूरी तय गरिएको छ । विभिन्न ६० वटा झाँकीसहित निकालिने रथलाई ४३ स्थानमा विश्राम दिइने उनले बताए ।
विभिन्न जातजाति, धर्म र समुदायका झाँकीसहित भक्तजनको उपस्थितिले रथयात्रा भव्य हुने रेग्मीको भनाइ छ । रथयात्राको अवसरमा कोसी प्रदेश सरकारले एक दिनलाई सार्वजनिक बिदासमेत दिएको छ । रथयात्रालाई व्यवस्थित बनाउन भूमिका निर्धारण गरेर प्रदेश सरकार, विराटनगर महानगरपालिका, सुरक्षा निकाय र सरोकारवाला निकायलाई जिम्मेवारी प्रदान गरिएको छ । रथ परिक्रमास्थलका पोल तथा घरहरुमा राधाकृष्णको चित्र अंकित झण्डा र पोस्टर तथा ध्वजापताका टांगिएका छन् ।
रथयात्रामा नेपाल र भारतका करिब ६ लाख श्रद्धालु भक्तजान सहभागी हुने अपेक्षा आयोजकले गरेको छ । रथयात्रा कोरोना महामारीका कारण यसअघि २ वर्ष ‘खटयात्रा’मा सीमित भएको थियो । गत वर्षदेखि पुनः भव्य हिसाबले मनाउन थालिएको हो । अध्यक्ष रेग्मीले रथयात्रालाई सफल बनाउन प्रदेश र स्थानीय सरकारदेखि सुरक्षा निकाय तथा सरोकारवालाले भरपुर सहयोग गरिरहेको जानकारी दिए । रथयात्राका लागि ५ सयभन्दा बढी स्वयंसेवक परिचालन हुने छन् ।
उनका अनुसार रथयात्राको रुट तय गरिएको स्थानका नाला र सडक सरसफाई तथा मर्मतमा विराटनगर महानगरपालिकाले सहयोग गरेको छ । सडकबत्ती जडान गर्ने र सहरलाई सजाउने काम पनि गरिएको रेग्मीले बताए । विक्रम संवत १९८८ सालदेखि ‘खटयात्रा’बाट प्रारम्भ भएको रथयात्रालाई विराटनगरको एउटा उत्सव एवं पहिचानसँग समेत जोडेर हेर्ने गरिएको छ । ‘खटयात्रा’लाई २०२५ सालदेखि रथयात्रामा रूपान्तरण गरिएको हो ।
विराटनगरले पठायो नेपाल र भारतका पालिकालाई निम्तो
विराटनगर महानगरपालिकाले आफ्नो ठाउँमा निकालिने रथयात्रामा उपस्थित भएर शोभा बढाइदिन तथा रथको दर्शन गर्नका लागि नेपाल र छिमेकी मुलुक भारतका विभिन्न पालिकालाई निम्तो पठाएको छ । विराटनगरका मेयर नागेश कोइरालाले विशेष गरेर मुलुकभरका अन्य ५ वटा महानगर तथा ११ वटा उपमहानगरपालिकालाई नछुटाइकन निम्तो पठाउँदै उपस्थितिका लागि आग्रह गरेका छन् । त्यस्तै, मोरङका अन्य १६ वटासहित कोसी प्रदेशका अधिकांश पालिकालाई निमन्त्रणा गरिएको कोइरालाले बताए ।
‘विराटनगरको प्रतिष्ठा एवं उत्सवका रूपमा रहेको रथयात्रामा सहभागी हुन आग्रह गर्दै मुलुकका विभिन्न स्थानका पालिकालाई निम्तो पठाइएको छ,’ उनले भने, ‘छिमेकी भारतका पनि विभिन्न स्थानीय तहलाई निमन्त्रणा पठाइसकिएको छ ।’ रथयात्रामा सहभागी हुन नेपाल र भारतका विभिन्न पालिकाका प्रमुखहरु उपस्थित हुने क्रम जारी छ । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) पनि रथयात्रामा सहभागी हुन बिहीबार विराटनगर आउने बताइएको छ । त्यस्तै, ललितपुर, अमरगढी, भीमदत्तलगायतका पालिकाका प्रमुखहरु विराटनगर आइपुगेका छन् ।
रथयात्रामा उपस्थित हुन आग्रह गर्दै बनारससहित भारतको ‘महाभारत सर्किट’मा पर्ने सबै नगर पञ्चायतका प्रमुखहरुलाई निमन्त्रणा गरिएको मेयर कोइरालाले बताए । देशभरका नगरपालिकाहरुको छाता संगठन सीटी नेटको कार्यक्रम विराटनगर महानगरपालिकाले बिहीबार नै आयोजना गरेको छ । कार्यक्रममा सहभागी हुन आउने महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख एवं उपप्रमुखहरुलाई समेत रथयात्राको अवलोकन गराइने छ ।
सुरक्षा व्यवस्था कडा, भक्तजनलाई प्रहरीको सुझाव
रथयात्रालाई लक्षित गरेर विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ । ठाउँठाउँमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । रथयात्रा मूल समारोह समितिले ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई अनुरोध गरेको छ ।
झाँकी प्रदर्शनसहितको रथयात्राका क्रममा ट्राफिक व्यवस्थापन मिलाउन ठूलो संख्यामा ट्राफिक प्रहरी परिचालन गरिने छ । त्यसमा महानगर प्रहरीले समेत सहयोग गर्ने छन् । रथयात्रामा हुनसक्ने अवञ्छित एवं अपराधिक गतिविधि नियन्त्रणमा लिएर सुरक्षा व्यवस्था कडा पार्न कोसी प्रदेशका नेपाल प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला र सशस्त्र प्रहरी प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले निर्देशनसमेत दिएका छन् ।
मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बुधबार प्रहरीलाई ‘विशेष बिफ्रिङ’ गर्दै रथयात्राको सुरक्षामा कुनै पनि कमजोरी हुन दिन नहुने स्पष्ट पारेका छन् । रथयात्राका लागि मजवुत र भरपर्दो सुरक्षा व्यवस्था मिलाउन एसपी पोखरेलसहित डीएसपीहरु रन्जनकुमार दाहाल, विजय श्रेष्ठ, छेदीलाल कामतीलगायतका प्रहरी अधिकारी आफैं फिल्डमा खटिने छन् ।
सादा पोसाकमा समेत प्रहरी परिचालन गरिने छ । भक्तजनलाई विभिन्न सुझाव दिएर सचेत गराउँदै प्रहरीले शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाएको छ । राधाकृष्ण मन्दिर परिसरदेखि विराटनगरका विभिन्न स्थानमा सीसी क्यामेरा जडान गरेर सुरक्षा निगरानी गर्न थालिएको छ । रथयात्राको अवलोकनमा धेरै भक्तजनहरुको उपस्थिति हुने हुँदा भीडभाडको फाइदा उठाउँदै चोरी, लुटपाट, पाकेटमारीलगायतका घटना हुनसक्नेतर्फ प्रहरीले सबैलाई सचेत गराएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले अपराधिक घटना र अपराधिक प्रवृत्तिका मानिसबाट जोगिन सबै सचेत हुनुपर्ने बताए । ‘रथयात्राको सुरक्षा व्यवस्था मजवुत एवं कडा बनाइएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ,’ उनले भने, ‘सुरक्षामा कुनै कमजोरी हुने छैन । तर, भक्तजन आफैं सचेत भइदिँदा सम्भावित घटना हुन पाउँदैन ।’
डीएसपी दाहालले रथयात्राका क्रममा भागदौड मच्चिएर मानवीय दुर्घटना हुनसक्ने, बालबालिकाहरु हराउनसक्ने तथा वृद्धवृद्धा र महिला एवं बालबालिका घाइते हुनसक्ने जोखिम रहेको उल्लेख गरे । ‘सम्भावित घटनाहरुलाई मध्यनजर गर्दै सजग हुन भक्तजनहरुलाई आग्रह गरिएको छ,’ उनले भने, ‘सुरक्षामा कुनै कमजोरी नहुने हुँदा ढुक्क भएर सबैले रथयात्राको अवलोकन गर्न सक्नु हुनेछ ।’
प्रहरीले रथयात्रामा बहुमूल्य गहना लगाएर, बहुमूल्य सामान तथा अधिक नगद बोकेर सहभागी नहुन, रथयात्राको रुट निर्धारण भएको स्थानमा सवारीसाधन पार्किङ नगरिदिन, सीसी क्यामेरा र मानिसको निगरानी भएका ठाउँमा सवारीसाधनको सुरक्षित पार्किङ गर्न, बालिका लिएर रथयात्रामा सहभागी नहुन, वृद्धवृद्धालाई सहयोगीका साथमा मात्रै पठाउन, महिला तथा बालबालिकामाथि हुनसक्ने दुव्र्यवहारप्रति सजग रहन सबैमा आग्रह गरेको छ ।
त्यस्तै, चोरी हुनसक्ने जोखिमका कारण घर खाली गरेर परिवारका सबै सदस्य एकैपटक बाहिर ननिस्किन, घरको ढोका बलियोसँग बन्द गरेर मात्रै निस्किन, शंकास्पद व्यक्तिप्रति चनाखो रहन, कुनै घटना भएमा वा कसैले शंकास्पद गतिविधि देखाएमा तत्काल प्रहरी कन्ट्रोलको नम्बर १०० मा जानकारी गराउन अनुरोध गरिएको डीएसपी दाहालले बताए ।