वीरगन्जमा सरकार र गृहमन्त्रीविरुद्ध तरुण दलको प्रदर्शन
वीरगन्ज : सत्तारूढ दल नेपाली कांग्रेसका युवा नेताहरूले नै वीरगन्जमा सरकार र गृहमन्त्रीविरुद्ध प्रदर्शन गरेका छन्।
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणका विरुद्ध कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल पर्साका नेता कार्यकर्ताहरूले बिहीबार साँझ घण्टाघर चोकमा प्रदर्शन गर्दै सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठको विरोधमा नाराबाजी गरेका हुन्।
प्रदर्शनमा सहभागी तरुण दलका नेता कार्यकर्ताहरूले नालायक सरकार मुर्दावाद, हत्यारा सरकार मुर्दावाद, गृहमन्त्री राजीनामा दे लगायतका नारा लगाएका थिए।
नाराबाजीपछि आयोजित कोणसभामा बोल्दै कांग्रेस पर्साका सहसचिव नविन सिंहले कांग्रेस नेता यादमाथि भएको सांघातिक आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरे।
उनले लोकतन्त्र र गणतन्त्रका विरोधी शक्तिहरू कांग्रेसलाई तर्साउने हर्कतमा लागेको भए पनि कांग्रेस त्यसबाट कदापि नडराउने बताए। त्यस्ता अराजक र आपराधिक तत्वहरूलाई सरकारले कारबाही नगरे कांग्रेसले देशैभर आन्दोलन चर्काउने चेतावनीसमेत उनले दिए।
कोणसभामा बोल्दै नेविसंघका केन्द्रीय सदस्य मुनराज तिवारीले कांग्रेसकै आड र समर्थनमा बनेको सरकारका गृहमन्त्री श्रेष्ठले कांग्रेसकै नेतामाथि आक्रमण हुदाँसमेत मौन बस्नु दुर्भाग्यपूर्ण भएको बताए। उनले शान्ति सुरक्षा कायम गर्न असफल भएकाले गृहमन्त्री श्रेष्ठले अविलम्ब राजीनामा दिनुपर्ने माग पनि गरे।
नेविसंघकी केन्द्रीय सदस्य नेहा मिश्राले सरकारलाई नालायक सरकारको संज्ञा दिइन्। उनले गृहमन्त्री श्रेष्ठले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने मागपनि गरिन्।
तरुण दल पर्साका अध्यक्ष विकास तिवारीको अध्यक्षतामा भएको प्रदर्शनमा तरुण दलका नेता कालु सिंह, कांग्रेस क्षेत्रीय सचिव रन्जित कुमार पटेल, युवा नेता शेष हजरा लगायतको सहभागिता थियो।