ताप्लेजुङमा प्रदेश सांसदको घरमा घेरा हालेर प्रहरीले गर्यो हुलहुज्जत

ताप्लेजुङमा प्रदेश सांसदको घरमा घेरा हालेर प्रहरीले गर्यो हुलहुज्जत
कोसी प्रदेशका सांसद (प्रदेशसभा सदस्य) खगेनसिंह हाङ्गाम।

विराटनगर : ताप्लेजुङमा कोसी प्रदेशका सांसद (प्रदेशसभा सदस्य) खगेनसिंह हाङ्गामको घरमा घेरा हालेर प्रहरीले बिहीबार राति हुलहुज्जत गरेको छ । पोसाकमा र सादा पोसाकमा लाट्ठी तथा हतियारसहित ठूलो संख्यामा खटिएका प्रहरीले हाङ्गामको फुङ्लिङ नगरपालिका–५ स्थित घरमा घेरा हालेर हुलहुज्जत गरेका हुन् ।

सांसद हाङ्गामको सचिवालयले घटनाको भीडीयो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको छ । भीडीयोमा पोसाकसहित लाट्ठी र हतियारधारी तथा बिना पोसाकका प्रहरी अभद्र शैली र उग्ररूपमा प्रस्तुत भएको देखिन्छ । 

प्रहरीले उनको घरको गेटमा पटकपटक लात्ताले प्रहार गरेको भीडीयोमा देख्न सकिन्छ । भीडीयो अहिले भाइरल भइरहेको छ । घटना हुनुको पछाडि दुवै पक्ष उत्तिकै जिम्मेवार रहेको बताइएको छ । जात्रामा प्रहरी र कांग्रेसका कार्यकर्ताबीच विवाद भएको थियो । 

कांग्रेस सांसद हाङ्गाम ताप्लेजुङको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भएका हुन् । हाङ्गाम तरुण दल ताप्लेजुङको अध्यक्ष, कांग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि पनि हुन् । घर घेरा हालेर आफूमाथि प्रहरीले आक्रमणको प्रयास गरेको उनले बताए । 

उनका अनुसार घटना राति ११ बजेतिरको हो । ‘ताप्लेजुङस्थित घरमा आएका बेला प्रहरी टोलीले ‘कक’ गरी पेस्तोल तेस्र्याएर आक्रमण गर्न खोज्यो,’हाङ्गामले भने, ‘प्रहरीले हतियार र बर्दीका आडमा गुण्डागर्दी गर्‍यो ।’ प्रहरीका कारण आफू असुरक्षित हुनु परेको गुनासो उनको छ । 

उनले मदिरा सेवन गरेका प्रहरीले कांग्रेसका कार्यकर्तामाथि कुटपिट गरेको समेत बताए । कांग्रेस कार्यकर्तामाथि कुटपिट भएपछि दिउँसोदेखि नै प्रहरीसँग विवाद र भनाभन भएको हाङ्गामको भनाइ छ । ‘प्रहरीले मापसे (मादक पदार्थ सेवन) गरेर एक जना बहिनीलाई दुःख दिएपछि कांग्रेसका कार्यकर्ताले त्यसो नगर्न आग्रह गरेका हुन् । त्यस क्रममा केही वादविवाद भयो,’ उनले भने, ‘मैले घटना मिलाउन सहजीकरण पनि गरेँ । यही विषयलाई लिएर प्रहरीले घर घेरा हाल्दै मलाई आक्रमणको प्रयास गरे ।’ 

सुरुमा तरुण दलका कार्यकर्तामाथि प्रहरीले कुटपिट गरेको उनले बताए । काठमाडौंबाट आएका क्षेत्रीय उपसभापति पेमा लामालाई समेत प्रहरीले कुटेको हाङ्गामको भनाइ छ । ‘ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी राजन लिम्बूले टोली पठाएर घर घेरा हाल्न लगाउँदै हुलहुज्जत र अभद्र व्यवहार गर्न लगाए,’उनले भने, ‘मलाई मार्ने प्रयास गरियो ।’ 

प्रहरी टोलीमाथि दुव्र्यवहार गरेको भन्दै प्रहरीले एकजनालाई नियन्त्रणमा समेत लिएको छ । प्रहरीले दिलिप लिम्बूलाई पक्राउ गरेको र उनी निर्दोष रहेको हाङ्गामले बताए । प्रहरीले भने रातको समयमा मदिरा सेवन गरेर होहल्ला हुन थालेपछि त्यसो नगर्न आग्रह गर्दा प्रहरीमाथि नै आक्रमणको प्रयास भएको दाबी गरेको छ । राति ९ बजेबाट जात्रा बन्द भएपनि बाटोमा बसेर होहल्ला गर्न थालेपछि सम्झाउन गएको प्रहरीलाई हाङ्गामसहितको टोलीले अभद्र व्यवहार गरेको दाबी प्रहरीको छ । 

कोसी प्रदेश प्रहरीका प्रवक्ता एसपी ऋषिराम कँडेलले घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिए । ‘प्रदेश माननीय र प्रहरीबीच सामान्य विवाद भएको कुरा आएको छ । यस विषयमा थप बुझ्दै छौं,’ उनले भने ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.