पुल निर्माणको कामले गति नलिंदा यात्रुलाई आवाजजावतमा सास्ती
गुल्मी : मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडक खण्डका खहरे खोलामा पक्की पुल निर्माणको कामले गति लिन नसक्दा यात्रु र सवारी चालक सास्ती खेप्न बाध्य छन्। यस आर्थिक वर्षमा पुल निर्माण गर्ने गरी निर्माण व्यावसायीले सम्झौता गरे पनि काममा भएको ढिलासुस्तीले समयमै काम सकिने छाँटकाट देखिएको छैन।
तम्घास सिमलटारी सडकखण्ड अन्तर्गतका हुलाके, धनार्जी, फुलबारी र घमिर खोलामा पक्की पुल निर्माणको काम भइरहेको छ। तर, पुल निर्माणको कामले गति नलिंदा साना ठूला सवारी र पैदल यात्रुलाई समेत आउ–जाउमा सास्ती खेप्नु परेको यात्रुको गुनासो छ।
यस सडकखण्डमा दैनिक साना ठूला गरी सयौं सवारी चल्ने गर्दछन्। सडक कालोपत्रे भए पनि खहरे खोलामा पुल नहुँदा बर्खायामको समयमा यात्रु र सवारी साधानलाई आवजजावत कठिनाइ भोग्नु परेको छ। ४ वटै पुल निर्माणको काम कछुवाको गतिमा हुँदा आफूहरु थप समस्यामा परेको यात्रु बताउँछन्।
यस सडकखण्डका ४ वटा पुल निर्माणको जिम्मा २ वटा निमार्ण कम्पनीले पाएका छन्। पन्त निर्माण सेवाले घमिर र फुलवारी खोलामा पुल निर्माण जिम्मा पाएको छ। हुलाके र धनार्जी खोलामा पुल निर्माण सुनिल समीर निर्माण सेवा प्रा.लि नामक निर्माण कम्पनीले लिएको छ। घमिर खोलामा उक्त कम्पनीले ३ करोड १३ लाख ८४ हजारको लागतमा १५ मिटर लम्वाईको पुल निर्माणको जिम्मा लिएको छ।
फुलबारी खोलामा २० मिटर लम्बाईको पुल निर्माणको लागि ३ करोड ३२ लाख ६८ हजार लागत रहेको छ। यी दुई स्थानका पुल निर्माण कार्य पछिल्लो पटक म्याद थप गरेर २०८० चैत्र ८ गतेसम्म रहेको छ। हालसम्म यी पुलको प्रगति ३० प्रतिशत मात्रै भएको छ। एउटै ठेक्दारले दुई-दुईवटा पुल निर्माणको काम लिने हुँदा जनशक्ति अभावले न्यून प्रगति रहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीका कार्यालय प्रमुख माधव अर्यालले बताए।
धनार्जी खोलामा ३५ मिटर लम्बाइको पुल निर्माणको लागि ७ करोड ४८ हजार र हुलाके खोलामा २५ मिटर लम्बाइको पुल निर्माणको लागि ५ करोड ७९ लाख ५३ हजार लागत छ। धनार्जीमा बन्ने पुल २०८० साल माघ महिना भित्र सम्पन्न गर्नुपर्ने छ। हुलाकेमा निर्माण हुने पुल निर्माण कार्य २०८० साल मंसिर महिना भित्र सम्पन्न गरिसक्नु पर्ने कार्यालले जनाएको छ। हाल सम्म प्रगती १० र २० प्रतिशत मात्रै भएको छ।