बिदाको दिन अनुमतिबिना सञ्चालन गरिएका ४३ वटा सरकारी गाडी नियन्त्रण
वीरगन्ज : वीरगन्जमा बिदाको दिन अनुमति नलिई चलिरहेका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ। शनिबार बिदाको दिन इजाजत नलिएर चलाइएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी समेतको गाडीलाई राष्ट्रिय युवा संघ नेपालका नेता कार्यकर्ताले नियन्त्रणमा लिएका हुन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको सहयोगमा शनिबार बिदाको दिन चेकजाँचमा कडाइ गरी सरकारी सवारी साधन नियन्त्रणमा लिइएको राष्ट्रिय युवा संघ पर्साका अध्यक्ष मोहम्मद निजामले जानकारी दिए।
उनका अनुसार प्रमुख जिल्ला अधिकारीको गाडीसहित तीनवटा चार पाङ्ग्रे गाडी र ४० वटा मोटरसाइकल नियन्त्रणमा लिएर जिल्ला ट्राफिक प्रहरीको जिम्मा लगाइएको हो।
वीरगन्जको घण्टाघरबाट नियन्त्रणमा लिइएका सवारी साधन बेलुका ५ बजेपछि मात्रै छोडिने युवा संघ वीरगन्ज महानगरका अध्यक्ष अमिर खानले बताए। प्रमुख जिल्ला अधिकारीको गाडी भने पास लिएर आउने शर्तमा फिर्ता पठाइएको उनले बताए।
बिदाको दिन पनि सरकारी सवारी साधन दुरुपयोग हुने गरेको पाइएपछि युवाहरूले खबरदारी स्वरूप सवारी साधन नियन्त्रणमा लिने अभियानको थालनी गरिएको राष्ट्रिय युवा संघ पर्साका अध्यक्ष निजामले बताए।