कागबेनी बाढी पीडितलाई ४० लाख राहत
जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीका बाढी पीडितलाई ४० लाख ३५ हजार राहत वितरण गरिएको छ। मुस्ताङको बाह्रगाउँदेखि माथि लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाबासी समेटिएको मुस्ताङ बाह्रगाउँ लोछोदुन सेवा संघ (काठमाडौं)ले कागबेनीमा बाढी पीडितलाई नगदसहितको राहत वितरण गरेको हो।
गत साउन २८ गते साँझ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीको तटीय बस्तीमा कागखोला बाढीले करोडौको भौतिक संरचनामा क्षति पुगेको थियो। कागखोला बाढीले डेढ दर्जन घरहरुमा क्षति पुगेको थियो। बाढीले आमा समूह भवन, वडा कार्यालय, प्रहरी चौकी, युवा क्लव भवन, विद्यालय र कागबेनी श्राद्ध स्थलमा पनि ठूलो क्षति पुर्याएको थियो। बाढीले स्थानीयको गोठ, पशुचौपाया र सवारी साधन बगाएको थियो। कागबेनीमा निर्माणधीन पक्की पुलसहित अस्थायी ४ वटा पुल बाढीले बगाएर क्षति पुगेको थियो।