एकीकृत समाजवादीले महाधिवेशनमा लागि पुस २१ मा एकैदिन प्रतिनिधि छनोट गर्ने
काठमाडौं : एकीकृत समाजवादीले पार्टीको सांगठनिक कार्यतालिका बनाएको छ। अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा असोजभित्र पार्टी सदस्यता/सङ्गठित पार्टी सदस्यता नवीकरण गर्ने भएको छ ।
केन्द्रीय कमिटीको छैटौँ बैठकको आगामी माघ १४-१८ मा पार्टीको दशौँ महाधिवेशन गर्ने निर्णय गरिसकेकाले तयारीमा जुट्न नेपालले निर्देशन दिएका छन्। महाधिवेशनको तयारी गरेको एसले असोज ५ गतेभित्र पार्टीका प्रदेश कमिटी तथा जिल्ला कमिटी र जनसङ्गठनका कन्द्रीय कमिटी/समितिका बैठक बसी विद्यमान कमिटीहरू अद्यावधिक तथा पार्टी सदस्यता/सङ्गठित पार्टी सदस्यता नवीकरण एवम् नयाँ सदस्यता वितरण र असोजमा सञ्चालन गरिने मेची–महाकाली राष्ट्रिय अभियानको समेत योजना बनाउने अपानीमा उल्लेख छ।
त्यसैगरी असोज महिनाभर केन्द्रीय कमिटीको छैटौँ बैठकले निर्णय गरेअनुसारको मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्नुका साथै असोज १ गतेदेखि मंसिर २० गतेसम्म विद्यमान कमिटीहरू अद्यावधिक गर्ने र पार्टी सदस्यता/सङ्गठित पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियान सञ्चालन हुनेछ।
जारी अपानीमा भनिएको छ, ‘मंसिर २५ गतेभित्र सदस्यता वितरण र नवीकरणको विवरण प्रमाणिकरणका लागि केन्द्रीय सङ्गठन विभागमा पठाउने, विभागबाट पुस १० गतेभित्र प्रमाणिकरण गरेर फिर्ता पठाउने, पार्टी सदस्यता/सङ्गठित पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण कार्य निरन्तर चल्नसक्छ तर महाधिवेशनको प्रकृयामा सहभागी हुन भने मंसिर २५ गतेभित्र प्रमाणिकरणका लागि केन्द्रीय सङ्गठन विभागमा पठाइएको र केन्द्रीय सङ्गठन विभागबाट प्रमाणिकरण भएका सदस्यले मात्र पाइने छ।’
यसैगरी कात्तिक १५ गतेसम्म महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरू तयार गरिसक्ने, कात्तिक १५ देखि पुस १५ सम्म दस्तावेजहरूमा छलफल बहस चलाउने, पुस २१ मा एकैदिन प्रतिनिधि छनोट गर्ने, पुस २५ गतेभित्र प्रतिनिधि छनोटको प्रतिवेदन केन्द्रमा पठाइसक्ने, माघ ५ भित्र प्रतिनिधिहरू यकिन गरिसक्ने नेपालले जारी गरेको अपानीमा उल्लेख छ।