संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार अधिकार सम्पन्न हुनुपर्छ : मुख्यमन्त्री चौधरी

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयताको पूर्ण कार्यान्वयनका लागि प्रदेश सरकार अधिकार सम्पन्न हुनुपर्ने बताएका छन्। त्यो भूमिका संघीय सरकारले निर्वाह गर्नुपर्ने उनले बताए।
प्रदेश सरकार र स्थानीय सरकारले पूर्ण अधिकार नपाएको भन्दै तत्काल अधिकार सम्पन्न गराउन संघीय सरकारसँग उनले आग्रह गरे। गाउँपालिका महासंघको आयोजनामा दाङको भालुवाङमा शुक्रबार भएको स्थानीय सरकार र प्रदेश सरकारबीच प्रदेशस्तरीय परामर्श गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले संघले तल्लो तहमा अधिकार नदिँदा कार्य सम्पादनमा समस्या भइरहेको बताए।
सरकार रहेको तर अधिकारमा सम्पन्न सरकार नहुँदा संघीयतासमेत कार्यान्वयन नभएको उनको तर्क छ। अहिले संघीयतामा आलोचना बढिरहेको भन्दै त्यो अवस्था संघीय सरकारले ल्याएको बताए। मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले पाएको अधिकारसमेत संघले दिन नखोज्दा संघीयता कार्यान्वयनमा जटिलता उत्पन्न हुने संकेत देखिएको बताए।
‘अहिले भएको संघीयताको विरोध संघ सरकारकै कारण भएको छ,’उनले भने, ‘संघीयता विफल भए पनि संघकै कारण हुँदैछ।’ संघले पूर्ण अधिकार प्रदेशलाई दियो भने मात्रै संघीयता कार्यान्यवन हुने र प्रदेश सरकारको औचित्य पनि पुष्टि हुने बताए।
प्रतिक्रिया दिनुहोस !
