पुल र गाडीले खोस्यो माझी समुदायको पेसा

खोला र नदीमा आश्रित समुदाय हो माझी। जतिबेला पुल थिएनन्, बाटो थिएन माझी समुदाय नै थियो खोला र नदी तारिदिने माध्यम। त्यसबापत यात्रीबाट केही शुःल्क लिन्थ्यो र माझी समुदायको रोजीरोटी चल्थ्यो। तर, आज माझी समुदायको त्यो पेसा संकटमा परेको छ। जताततै गाडी र पुल बनेकाले माझीलाई नदी/खोला तारिदिन कसैले पनि गुहार्नु पर्दैन।
अर्कोतिर, माझी समुदायको जीवोपार्जनको अर्को स्रोत हो– माछा। नदी, खोलामा जाल, टांगो बल्छी, छुट्टा खेलेर माछा मार्ने र त्यसबाटै छाक टार्ने गर्छ, माझी समुदायले। अहिले त नदीमा माछा पनि पाउन छोडे। किनभने, द्वन्द्वकालमा नदी खोलामा अनियन्त्रित रूपमा बम हानियो। माछाका वंश नै समाप्त भए। त्यतिबेला सुरक्षाकर्मीले नै बम हानेर ठूला–ठूला माछा समाते। साना–साना त्यत्तिकै बगेर गए। अनि, नदीमा माछाको संख्या नै घट्न गयो।
आजसम्म पनि त्यसको असर परिरहेको छ। त्यसैकारण पनि माझी समुदायलाई साँझ–बिहानको छाक टार्नै धौ–धौ भएको छ। विगतमा माझेनी दिदीबहिनीहरूले चौतारो र डुंगा तार्ने बेला जाँड बेचेर दुई चार पैसा कमाउँथे। आजभोलि त्यसरी बेच्न पाइँदैन।
यो समुदाय आर्थिक, शैक्षिक र सामाजिक विकासमा पनि निकै पिछडिएको छ। गरिबीका कारण यो वर्ग शिक्षामा निकै पछाडि छ। रोजगारबाट पनि बन्चित छ। मुलुकमा ठूल्ठूला राजनीतिक परिवर्तन भए। २०६४, २०७०, २०७४, २०७८ मा चुनाव भयो। चुनावका बेला माझीहरूलाई यो गर्दिन्छु/त्यो गर्दिन्छु भनेर नेताहरूले आश्वसान बाँडे। मासुभात खुवायो। १ बटुका जाँड, १ गिलास रक्सी र र १ पिलेट मासु खुवाएर नेताहरूले माझीहरूको भोट लियो। तर, चुनाव जितेपछि माझीलाई कसैले पनि हेरेन।
(रामबहादुर माझी, माझी जागरण केन्द्रका अध्यक्ष हुन्)
प्रतिक्रिया दिनुहोस !
