स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघबीच वार्ता जारी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल चिकित्सक संघबीच वार्ता जारी छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्ता टोलीले आन्दोलनरत नेपाल चिकित्सक संघका प्रतिनिधिहरूसँग छलफल गरिरहेको छ।
वार्ता टोलीमा अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रहेका छन्।
गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा.विकास थापा र डा.प्रशान्त विडारीमाथि बिरामीका आफन्तले कुटपिट गरेको भीडीयो सार्वजनिक भएको थियो । लगतै दोषिलाई कारवाही गर्नुपर्ने माग राख्दै संघले आन्दोलनको घोषणा गरेको थियो ।
चिकित्सकमाथि भएको कुटपिटको विरोध गर्दै संघले सरकारी अस्पताल,निजी अस्पताल, मेडिकल कलेज तथा क्लिनिकमा सेवा बन्द गरेको छ। डाक्टरमाथि कुटपिटमा संलग्नलाई फौजदारी अभियोग तथा ऐनबमोजिम कारबाहीको सुनिश्चितताको माग संघले राखेको छ ।
चिकित्सकको आन्दोलनका कारण देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन्। जसका कारण उपचारका लागि स्वास्थ्य संस्था पुगेका बिरामी मर्कामा परेका छन् ।
प्रतिक्रिया दिनुहोस !
