लागूऔषधविरुद्ध जनचेतना जरुरी

लागूऔषधविरुद्ध जनचेतना जरुरी
सुन्नुहोस्

 विश्व स्वास्थ्य संगठनले लागूपदार्थलाई स्वस्थ शरीरका लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। लागूऔषधले मानिसमा लत सिर्जना गरी दुव्र्यसनी बनाउँछ। यसको सेवनले सामान्यतः शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउँछ। मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्छ। उसका भावना र सोचाइमा परिवर्तन ल्याइदिन्छ। मानवीय स्वास्थ्यका दृष्टिले हानिकारक छ। पछिल्लो समय भने जिल्लाजिल्लामा लागूऔषधको उत्पादन, कारोबार र सेवन बढ्दै गएको सरकारी तथ्यांक छ।

संघीय राजधानीसमेत रहेको बागमती प्रदेशका १३ जिल्लामध्ये उपत्यकाबाहेकका १० जिल्लामा प्रत्येक वर्ष लागूऔषध तस्करी बढ्दो छ। बागमती प्रदेश प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७÷०७८ मा २ सय ६५ जना लागूऔषध मुद्दामा पक्राउ परे। २०७८/०७९ मा बढेर यो तथ्यांक ५ सय ३० पुग्यो भने २०७९÷०८० मा ५ सय ५६। तथ्यांक हेर्दा प्रत्येक वर्ष लागूऔषध कारोबार, प्रयोग र उत्पादनमा प्रदेशका नागरिक फस्दै गएको देखिन्छ। मकवानपुर र चितवन त गाँजा, अफिमलगायत लागूऔषध खेतीको पनि ‘हब’ बन्दै गएको छ। चेतनाको कमी, कम समयमै धेरै पैसा कमाउने लोभले पनि यस्तो भएको छ। अशिक्षालगायत कुराले पनि भूमिका खेलेको छ।

लागूऔषध कारोबार र सेवनको असर व्यक्तिमा मात्र सीमित हुँदैन, सिंगो समाजले भोग्नुपर्छ। लागूऔैषधकै कारण समाजमा लुटपाट, चोरी र डकैती बढ्छ। घरझगडा हुन्छ, हत्याहिंसा सबै हुन्छ। सेवनकर्ताले असुरक्षित सुईंको प्रयोग गर्दा र असुरक्षित यौन सम्पर्क गर्ने भएकाले एचआईभी एड्सजस्ता भयानक रोगको सिकार हुनुपर्छ। यी सबै कार्य रोक्न नेपालमा कानुन छ। नेपालको लागूऔषध नियन्त्रण ऐन २०३३ ले लागूऔषधको खेती, उत्पादन,  निर्माण, खरिद–बिक्री, सञ्चय, ओसारपसार, सेवन तथा निकासी पैठारीमा रोक लगाएको छ। तर, कानुनको डण्डाले मात्र लागूऔषधको कारोबार र सेवन रोकिएको छैन। रोकिनेवाला पनि छैन।

लागूऔषधको दलदलमा सबैभन्दा बढी बालबालिका छन्। भविष्यका कर्णधार बालबालिकालाई लागूऔषधको सेवनबाट हुने हानि र यसले पार्ने प्रभावबारे स्कुल, कलेज र घरपरिवार तहबाटै बुझाउन जरुरी छ। तीन तहकै सरकारले लागूऔषधविरुद्ध व्यापक रूपमा जनचेतना जगाउन जरुरी छ। अनिमात्र समाजबाट लागूऔषध कारोबारी र सेवनकर्तालाई जरैबाट नियन्त्रण गर्न सकिन्छ। समुन्नत नेपाल र सुखी नेपाली बनाउन सकिन्छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.