सामान्य विवादमा कुटपिट गरी साथीको हत्या

लुम्बिनी : स्थानीय युवाहरूबीच विवाद हुँदा पाल्पामा कुटपिटबाट एक युवकको हत्या भएको छ। पाल्पाको तिनाउ गाउँपालिका–२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको आफ्नै साथीहरूबीच सामान्य विवाद हुँदा साथीहरूको कुटपिटबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार स्थानीय युवाहरूबीच विवाद बढ्दै जाँदा राति साढे १२ बजेको समयमा युवकमाथि कुटपिट भएको थियो।
गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकामा उपचारका क्रममा राति पौने २ बजे मृत्यु भएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए।
तीजको दर खाएर राति महिला नाचिरहेका बेला युवाहरूबीच विवाद भएको थियो। त्यही विषयलाई लिएर पुनः झगडाले उग्ररूप लिएपछि खत्रीमाथि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चन्दले बताए।
हत्याको आरोपमा चारजना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर प्रहरीले थप विवरण खुलाएको छैन। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
