इण्डो-प्यासिफिक सेना प्रमुखहरूको सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत जाँदै

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा नयाँ दिल्ली जाने भएका छन्। यही असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने १३ औं संस्करणको इण्डो-प्यासिफिक सेना प्रमुखहरूको सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा आइतबार भारत प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।
भारत र अमेरिकाको सेनाहरूको सहआयोजनामा उक्त सम्मेलन हुन लागेको हो।
सम्मेलनमा प्रधानसेनापतिसँगै उपरथी योगराज शर्मा,महासेनानी वसन्तबहादुर गौतम र सेनाका सुवेदार रत्नबहादुर थापा मगर सहभागी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
गत भदौ २३ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको भ्रमण स्वीकृत गरेको थियो। उनी असोज ११ गते स्वदेश फर्किनेछन्।
नेपाली सेनाले उक्त सम्मेलनमा प्रधानसेनापतिको सहभागिताबाट मित्र राष्ट्रका सैन्य संगठनहरूबीच सुमधुर सम्बन्ध कायम हुने विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !
