पार्टीको नाम र लोगो राखेर खोलिएका फेक एकाउण्ट बन्द गर्न एमालेको आग्रह

काठमाडौं : नेकपा एमालेले पार्टीका नाममा खोलेका फेक एकाउण्ट बन्द गर्न आग्रह गरेको छ। पार्टी र नेताका नाम र लोगो राखेर खोलिएका सबै एकाउण्ट सञ्चालक १५ दिनभित्र केन्द्रीय प्रचार विभागको सम्पर्कमा नआए कानुनी कारबाहीमा जाने केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
विज्ञप्ति जारी गर्दै उनले पार्टीका नाम, लोगो, झण्डा र पार्टी नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै एकाउण्ट सञ्चालकहरूलाई १५ दिनभित्र पार्टीको केन्द्रीय प्रचार विभागको सम्पर्कमा आउन अनुरोध गरिन्छ। अन्यथा, यस्ता फेक एकाउण्ट सञ्चालकहरूका बारेमा आवश्यक कानुनी प्रक्रियामा जान पार्टी बाध्य हुने कुरा सूचित गरिन्छ।
एमाले र पार्टी नेतृत्वका नाममा अनधिकृत रूपमा फेक आइडी प्रयोग गरी सामाजिक सञ्जालमार्फत् भ्रमपूर्ण समाचार सम्प्रेषण गरी अफवाह फैलाइएको पाइएकाले त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको एमालेले जनाएको छ।
‘सामाजिक सञ्जालको दुरुपयोग गरी अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेको छ। यसले पार्टीपङ्ति र जनसमुदायमा भ्रम सिर्जना हुने गरेको छ।’ विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउण्ट बन्द गर्नुपर्ने चौतर्फी दबाब आएकाले सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ।’
प्रतिक्रिया दिनुहोस !
