फिफिया एपमार्फत ११ लाख बढी ठगी गर्ने युवती पक्राउ

काठमाडौं : फिफिया एपमार्फत करिब साढे ११ लाख ठगी गर्ने युवती पक्राउ परेकी छन्। पक्राउ पर्नेमा भोजपुरको हतुवागढी गाउँपालिका-६, घर भई हाल काठमाडौं टोखा नगरपालिका-६ बस्दै आएकी २८ वर्षीया दादिकी शेर्पा (राई) रहेकी छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार विभिन्न सामाजिक सञ्जालमा साथी बनाएर जीमेल आइडीमा फिफिया एपको लिंक पठाएर इन्सटल गर्न लगाउने र अनलाइन बेटिङ गर्न लगाएर रकम ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
उनले फिफिया एपबाट हुने आर्थिक कारोबार नेपालमा कानुन बमोजिम भएको अनलाइन बेटिङ गर्नका लागि रकम डिपोजिट गर्न लगाउने र रकम डिपोजिट गरेको ९० मिनेटभित्र लगानी गरेको रकममा १.४८ प्रतिशतका दरले फाइदा हुन्छ भन्ने झुट्ठा आश्वासन दिई प्रलोभन देखाई ११ लाख २७ हजार बराबरको रकम ठगी गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेकी उनलाई कानुनबमोजिम ठगी तथा सट्टाबाजी सम्बन्धी कसुर आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।
प्रतिक्रिया दिनुहोस !
