नेपालगन्ज उद्योग वाणिज्य संघद्वारा उद्योग मन्त्री रिजाललाई ११ बुँदे ज्ञापनपत्र
नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ।
संघले बिहीबार नेपालगन्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष टंकबहादुर धामीले ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा जमुनाहा नाकाबाट अवैध रुपमा करोडौंको सामान भित्रिँदा स्वदेशी उद्योगी व्यवसायी मारमा परेकाले सीमा नाका व्यवस्थित गर्नुपर्ने र आयातमा रहेको अव्यवहारिक भन्सार नीति सच्चाउनुपर्ने माग गरेको छ।
पटक पटक विद्युत जाँदा औद्योगिक प्रतिष्ठानका उत्पादन बिग्रेर खेर जाने र मेसिनरी सामानहरू बिग्रने समस्या धेरै भएकाले उद्योगहरूमा नियमित रुपमा सहज आपूर्ति गर्न व्यवस्था गर्न र उत्पादनमूलक उद्योगलाई सहुलियत दरको बैंक ब्याज उपलब्ध गराउन माग गरेको छ।
त्यसैगरी शिलान्यास गरिएको नौबस्ता औद्योगिक क्षेत्रमा तत्काल काम सुरु गर्नुपर्ने, नेपालगन्जमा निर्माणाधीन एकीकृत भन्सार जाँचचौकी (आइसीपी)को काम सम्पन्न गरी सञ्चालन गर्नुपर्ने रहेको छ। उद्योगी व्यवसायीलाई सहजताका लागि नेपालगन्जमा कम्पनी रजिष्टारको कार्यालय खोल्नुपर्ने, उद्योगी–व्यवसायीमैत्री नीति बनाएर पर्यटन उद्योगलाई प्रबद्र्धन गर्नुपर्ने, बाँकेमा जडिबुटीमा आधारित औषधि उद्योग सञ्चालनको वातावरण बनाउनुपर्ने र जडिबुटी निर्यातको समस्या समाधान गर्न नेपाल र भारतका सरकार स्तरमा संवाद गर्नुपर्ने माग रहेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अब्दुल वाहिद मन्सुरीले सरकारले उद्योगी व्यवसायीलाई संरक्षणमुखी नीति लिन सुझाव दिए। उद्योग मन्त्री रिजालले उद्योगी व्यवसायीलाई धेरै सेवा सुविधा दिने गरी सरकारले काम गर्न लागेको बताए। उनले नौबस्ता औैद्योगिक क्षेत्रमा न्यूनतम् चार्ज लिने गरी उद्योगीहरुलाई सहुलियत दिने र सञ्चालनका लागि पहल गर्न मन्त्रालयका सचिवलाई सरोकारवालासँग छलफल गर्न आग्रह गरे।
सो अवसरमा संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीले उद्योगीका समस्या, जडिबुटी व्यवसायी रविन्द्रनाथ शुक्लाले जडिबुटी व्यवसायीले भोगिरहेका दुःख, अक्सिजन ग्यास व्यवसायी राजिव तलंगाले कोरोनाकाल भरी सेवा दिएका अक्सिजन उद्योग धराशायी हुने गरी भारतबाट आयात गर्नुपर्ने लिक्विड अक्सिजन ग्यासमा राज्यले प्रोत्साहन गर्नु दुःखद भएको र संघका सदस्य बुद्धिबहादुर विकेले सुनचाँदी व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न मन्त्री रिजाललाई ध्यानाकर्षण गरेका थिए।