ताप्लेजुङ गोल्डकपमा ७३ लाख बढी आय

ताप्लेजुङ : ताप्लेजुङमा केही दिनअघि सम्पन्न ताप्लेजुङ गोल्डकप प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ। गत भदौ १४ देखि २० गतेसम्म सदरमुकाम फुङलिङमा आयोजना भएको उक्त प्रतियोगिताको आय–व्यय आज सार्वजनिक गरिएको हो।
आय–व्यय प्रस्तुत कार्यक्रममा जनाइए अनुसार प्रतियोगितामा ७३ लाख २४ हजार सात सय ८५ रुपैयाँ आय देखिएको छ। टिकट बिक्री, प्रतियोगिताका लागि विभिन्न व्यक्ति र संघसंस्थाको सहयोगबाट उक्त रकम संकलन भएको हो।
खेलको टिकट बिक्रीबाट मात्र १८ लाख ७६ हजार छ सय आम्दानी भएको लाखेजात्रा खेल सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले बताए। उनका अनुसार प्रतियोगितामा करिब २३ लाख बढीको आम्दानी भएको छ। आयोजकका अनुसार केही रकम भने उठ्न बाँकी छ।
प्रतियोगिता सम्पन्न गर्न ४९ लाख ८७ हजार एक सय ३७ रुपैयाँ खर्च भएको जनाइएको छ। सबैभन्दा धेरै खर्च खेलमैदानको स्तरोन्नतिमा भएको छ। खेलमैदान स्तरोन्नतिमा आठ लाख बढी खर्च भएको छ। प्रतियोगिता सम्पन्न गर्न जिल्लाका विभिन्न स्थानीय तहले समेत सहयोग गरेका छन्।
प्रतियोगिता सम्पन्न गरेर बचत भएको रकम मुद्धतिमा राख्ने आयोजकले निर्णय गरेको छ। सबैको साथ र सहयोगले छोटो अवधिको तयारीमा सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्न सफल भएको भन्दै आयोजकका अध्यक्ष देवराज गुरुङले सहयोगी सबैप्रति आभारसहित धन्यवाद व्यक्त गरेका छन्। यसपटकको प्रतियोगिता व्यवस्थित भएको जिल्लावासीले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !
