क्यानडामा गुन्जँदै नेपथ्य
काठमाडौं : नेपथ्यले पहिलोपटक क्यानडाको संगीतयात्रा गर्नेभएको छ। निर्धारित तालिका अनुसार अक्टोबरको १ तारिख आइतबारको दिन नेपथ्यले आफूलाई क्यालगरी सहरको ‘दी प्यालेस थिएटर’ मा उभ्याउनेछ। त्यसपछि अक्टोबर ४ तारिख, बुधबार ब्यान्डको प्रस्तुति भ्यानकुभर सहरको ‘दी भोग थिएटर’ मा हुनेछ। यी दुवै सहर क्यानडाको पश्चिमी भेगमा पर्छन्। यात्राको अन्तिम शो भने मुलुककै पूर्ववर्ती सहर टोरन्टोका दर्शक माझ हुनेछ।
सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६वटा देशको २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ। क्यानाडा नेपथ्यको १७ औं गन्तव्य राष्ट्र हुनेछ। केही समययता नेपालीहरूका निम्ति क्यानडा आप्रवासनको आकर्षक गन्तव्य बन्दै आएको छ। त्यसमा पनि विशेषगरि अध्ययनका लागि त्यसतर्फ जाने नेपाली विद्यार्थीहरूको संख्या बर्सेनि बढ्दो छ। ‘केही वर्षअघिसम्म पनि यहाँ नेपाली अनुहार मुस्किलले देखिन्थे,’ टोरन्टोका दिलिप पौडेल भन्छन्, ‘अहिले सार्वजनिक यातायात, कलेज, रेष्टुरेन्ट र बाटाघाटामा पनि नेपाली बोलिरहेका मानिस देखिनु सामान्यजस्तै बन्दैगएको छ।’ बढ्दो जनसंख्यासँगै यहाँका नेपाली संघ–संस्थाहरूले आयोजना गर्ने विभिन्नखाले सांगीतिक कार्यक्रमहरूको संख्या पनि नियमित बन्दै गएको छ।
‘यहाँको नेपाली समुदायले म्यासी हल जस्तो सम्मानित कार्यक्रम स्थलमा नेपाली कलाकारलाई प्रस्तुत गर्न लागेको सम्भवत यो नै पहिलोपटक हो,’ अर्का क्यानाडावासी रविन थपलिया भन्छन्।
सन् २०२३ भरिनेपथ्यका सबै प्रस्तुतिहरूलाई ‘मानवताका लागि संगीत’ को नारासहित मानवता प्रबर्धन अभियानको शृंखलाका रूपमा प्रस्तुत गर्ने विचार अनुरूप यसपालीको नेपथ्य क्यानाडा शृंखला पनि त्यही नाराअन्तर्गत अगाडि बढ्ने छ ।
‘क्यानडामा हुने प्रायः नेपाली कार्यक्रमहरू अमेरिकी यात्रासँग जोडिएर आयोजना गरिएको पाइन्छ,’ व्यवस्थापन सम्हाल्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नेपाली कलाकारहरूले क्यानडाको मात्र यात्रा गरेको घटना बिरलै हुने गरेकोमा यसपालि त्यो संभावनाको ढोका पनि उघार्ने अठोट लिएका छौं।’ नेपाली विद्यार्थीहरूको रोजाइमा पर्ने प्रमुख गन्तब्य मध्येको क्यानाडामा नेपाली जनसंख्या वृद्धि भएसँगै त्यतातिर हाम्रो कलाको बजार पनि विस्तार हुने संभावना देखिन थालेको श्रेष्ठ थप्छन्।
नेपालयले उचित व्यवस्थापन मार्फत नेपथ्यको प्रस्तुतिमा एकरूपता ल्याउनका लागि नेपालमा र विदेशमा नेपथ्यसँग अनुभव बटुलेका प्राबिधिकहरूलाई यात्रा टोलीमा सम्मिलित गर्दै आएको छ। सोहीअनुरूप, अघिल्लो महिनाको शृंखलाबद्ध जापान यात्रामा सम्मिलित ८ जना प्राविधिज्ञ एवं व्यवस्थापक र ६ संगीतकर्मीसहित जम्मा १४ जनाको टोली क्यानडा यात्रामा समावेश हुने छन् । ‘हाम्रो लागि क्यानाडा नयाँ गन्तव्य भए तापनि त्यहाँ बसोबास गर्ने नेपालीहरूले देखाएको उत्साहबाट असाध्यै हौसला मिलिरहेको छ,’ ब्यान्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘दसंैको मुखमा स्वदेशको सम्झना र थुप्रै माया बोकेर मञ्चमा उभिनेछौं।’
क्यानडामा रहेका शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत दिइरहेको सन्देश आफूलाई प्राप्त भइरहेको अमृतले जानकारी दिए। ‘कतिपय प्रसंशकहरूले समूह बनाउँदै अर्कै सहरदेखिको लामो दूरी तय गरेर पायक पर्ने सहरमा कन्सर्ट हेर्न आउने जानकारी दिइरहनुभएको छ,’ अमृत भन्छन्, ‘यो मायाका लागि म र मेरो टिम आभारी छौं।’
क्यानाडाको तीनवटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्। क्यानाडाका तीनवटै सहरहरूमा नेपथ्य कन्सर्टका निम्ति स्थानीय समयअनुसार बेलुकीको पाँच बजे प्रवेश खुला गरिनेछ भने ठीक सात बजे कन्सर्ट सुरुहुनेछ। आनलाइनबाट टिकटको बिक्री व्यवस्थापन भइरहेको यात्राका सबै कन्सर्टहरूमा विद्यार्थी समूहको निम्ति विशेष छुटको व्यवस्था पनि गरिएको छ।