यसकारण सम्भव भयो संरक्षण
कञ्चनजंघा संरक्षण क्षेत्र ताप्लेजुङको उत्तरतर्फ पर्ने प्राकृतिक रूपमा सुन्दर क्षेत्र हो। अग्ला टाकुरा र ठूला हिमनदीहरूको निम्ति प्रख्यात यो क्षेत्रले वातावरणीय तथा सांस्कृतिक विशिष्टता बोकेको छ।
दुर्लभ वन्यजन्तुको वासस्थान, विविध वनस्पति तथा जनजातिको सम्मिश्रण रहेको यस क्षेत्रको सिमाना मित्रराष्ट्र भारत र चीनसँगै जोडिएकाले सीमापार संरक्षणका निम्ति पनि यसले अद्वितीय अवसर प्रदान गरेको छ। सरकारले प्राकृतिक स्रोतहरूको संरक्षणका लागि उपभोक्ता समूह र स्थानीय जनसमुदायलाई नै संलग्न गराउँदै लैजाने नीति लिएपछि निम्न कारणले संरक्षण सम्भव भएको हो।
१. यो स्थानका नागरिकले संरक्षण गर्नुपर्छ भन्ने बुझेपछि विशिष्ट पारिस्थितिकीय प्रणाली र हिउँ चितुवा, कस्तुरी मृग, हिमाली भालु, ब्वाँसो जस्ता दुर्लभ वन्यजन्तुको संख्या बढ्यो।
३. पहिले यो क्षेत्रमा डढेलो लागेपछि कोही निभाउन पुग्दैनन् थिए। जब नागरिकले यो वन क्षेत्र आफ्नै भएको महसुस गरे डढेलो लाग्नै छाड्यो। वन बढेकाले भू–क्षय रोकियो, बाढी पहिरो कम भयो।
४. पहिले दुर्लभ वन्यजन्तु र जडीबुटीको चोरी सिकारी अत्याधिक थियो। केही जडीबुटी लोप हुने अवस्थामा पुगेका थिए। जब संरक्षण सुरुभयो ती जडीबुटी पुनः देखिन थाले।
५. संरक्षणमा स्थानीय नै सक्रिय भएपछि अवस्था फेरियो। यो हेर्न आउने पर्यटकको संख्यामा वृद्धि भयो भने स्थानीयले यसकै कारण रोजगारी पाए।
यसकारण म मन खोलेर भन्न सक्छु– हामीले सरकारले दिएको जिम्मेवारी पूरा गरेका छौं। त्यसैले स्थानीय समुदायहरूबाट व्यवस्थापन हुँदै आएको यो संरक्षण क्षेत्र नेपालमा मात्र नभई विश्वमा समेत नमुनाका रूपमा परिचित छ।
(खगेन्द्र फेम्बु (लिम्बु) कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष हुन्)