‘हाम्रो कूटनीति कहाँ चुक्यो ? ’
जी-२० शिखर सम्मेलनमा नेपाललाई नबोलाएकोप्रति कांग्रेस बैठकमा उठ्यो प्रश्न

काठमाडौं : भारतमा भएको १८ औं जी-२० शिखर सम्मेलनमा नेपाल सहभागी हुन नपाएको विषय कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उठेको छ। कांग्रेस केन्द्रिय सदस्यले जी-२० शिखर सम्मेलनमा नेपाललाई नबोलाएकोप्रति नेपालको कूटनीति कमजोर भएको हो भन्दै प्रश्न गरेका छन्।
कांग्रेस केन्द्रिय सदस्य भिम पराजुलीले बंगलादेश सहभागी हुँदा नेपाल किन नभएका हो भन्दै प्रश्न गरे। पराजुलीले भने,‘गत हप्तामात्रै भारतमा सम्पन्न जी-२० शिखर सम्मेलनमा मित्रराष्ट्र भारतले छिमेकी बंगलादेशलाई उच्च प्राथमिकतामा राखेर, सहभागी गराएर, विद्युत व्यापारका कुराहरु विश्वसमामु पुर्याउँदा नेपालको किन उपस्थिति हुन सकेन ? यदि हामीले समयमै सुझबुझ पूर्ण तयारी गरेको भए बंगलादेशको जस्तै अवसर प्राप्त गर्न सक्थ्यौं। हाम्रो कूटनीति कहाँ चुक्यो? हामी गम्भीर ढंगले यस विषयबारे आत्मसमीक्षा गर्नुपर्छ।’
जी २० मा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, (युरोपेली सङ्घका सदस्य फ्रान्स, जर्मनी र इटाली) भारत, इण्डोनेशिया, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्कीए, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य छन्।
पराजुलीले कांग्रेस सरकारमा पनि प्रधानमन्त्री र गृहमन्त्री नभएको जस्तो लागेको बताए। उनले सरकारमा कांग्रेस छ वा छैन भन्ने कुरा कार्यकर्ताले सोधिरहेको बताए। पराजुलीले कांग्रेस सरकारमा भएपनि भ्रष्टाचार र अनियमितता बढ्दा पनि कांग्रेस मौन बसेको जनताले बुझाई रहेको उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस !
