इन्डो–प्यासिफिक सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा भारत प्रस्थान
काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आज भारत प्रस्थान गरेका छन्। असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने १३ औं संस्करणको इण्डो-प्यासिफिक सेना प्रमुखहरूको सम्मेलनमा सहभागी हुन् प्रधानसेनापति शर्मा त्यसतर्फ गएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत सरोज प्रताप राणाले प्रधानसेनापतिलाई विदाइ गरेका थिए। प्रस्थान गर्नुअघि प्रधानसेनापति शर्मालाई सेनाको मुख्यालयमा गार्ड अफ अनर दिइएको थियो।
प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी राणलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ।
भारत र अमेरिकाको सेनाहरूको सह-आयोजनामा उक्त सम्मेलन हुन लागेको हो। सम्मेलनमा अमेरिका, फ्रान्स र बेलायतलगायत देशका प्रधान सेनापति एवम् प्रतिनिधि सहभागी हुनेछन्।
सम्मेलनमा प्रधानसेनापतिसँगै उपरथी योगराज शर्मा,महासेनानी वसन्तबहादुर गौतम र सेनाका सुवेदार रत्नबहादुर थापा मगर सहभागी छन्। गत भदौ २३ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको भ्रमण स्वीकृत गरेको थियो। उनी असोज ११ गते स्वदेश फर्किनेछन्।