पर्यटकीय नगरी लुक्ला सिजनमै लोडसेडिङ खेप्न बाध्य
सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका लुक्ला लोडसेडिङको मारमा परेको छ। पर्यटकीय सिजन सुरु भए पनि लुक्लामा विद्युत नियमित नहुँदा पर्यटकदेखि स्थानीय समेत मर्कामा परेका हुन्। लुक्ला क्षेत्रको करिब ४५० घरधुरीलाई बमखोला लघु जलविद्युत आयोजनाले विद्युत सेवा दिँदै आएको छ।
तर करिब ३ महिनाअघि उक्त विद्युतको दुईवटा मेसिनमध्ये एउटामा खराबी आएपछि नयाँ खरिद गरेर फाप्लुमा राखिएको छ। त्यस लगत्तै नेपाल नागरिक उड्ययन प्राधिकरणले हेलिकप्टरहरूको सिलिङ उठान बन्द गर्दा उक्त विद्युत मेसिन तीन महिनादेखि फाप्लुमै अलपत्र परेको विद्युत उपभोक्ता समितिका अध्यक्ष एवं वडाध्यक्ष आङ फुर्वा शेर्पाले बताए।
विद्युतका साना सामग्रीहरू जहाज मार्फत लुक्ला पुर्याए पनि ठुला तथा धेरै वजन भएका मुख्य मेसिनसहितका उपकरणहरू भने फाप्लुमै रोकिएको छ। जसका कारण लुक्लाले लामो समयदेखि लोडसेडिङको मार खेप्न बाध्य बनेको अध्यक्ष शेर्पाले बताए।
उनका अनुसार १ हजार २ सय ३० किलोको टरवाइन, ३३० किलोको टरवाइन, ७६० किलोको जेनेरेटर, १३० किलोको इएलसी बोर्ड, १३० किलोको बेस फर्म लगायतका वजनदार सामग्रीहरू फाप्लु एयरपोर्टमै थन्किएका छन्।
सडक सञ्जाल नपुगेका कारण लुक्ला क्षेत्रमा ढुवानीका लागि हेलिकोप्टरको विकल्प छैन। तर प्राधिकरणले सिलिङ उडानमै प्रतिबन्ध लगाउँदा खुम्बुवासी मारमा परेको उनको भनाइ छ। सिलिङ उडान अनुमति दिन वडा कार्यालयले सामग्रीको लिष्टसहित प्राधिकरणलाई पत्र नै काटे पनि सुनुवाइ नहुँदा पर्यटकीय नगरी लुक्ला सिजनमा समेत लोडसेडिङको मारमा परेको वडाध्यक्ष समेत रहेको शेर्पाले गुनासो गरे।
प्राधिकरणको उक्त निर्णयले खुम्बुवासीलाई अन्याय भएकाले यस्तै परिस्थिति आए लुक्लामा कुनै पनि उडान भर्न नदिने गरी आफूहरू आन्दोलनमा उत्रने स्थानीय टासी शेर्पाले चेतावनी दिए। नेपाल नागरिक उड्डयन प्राधिकरणले भने सेप्टेम्बर अन्तिमबाट हेलिकोप्टरलाई सिलिङ उडानको अनुमति दिने बताएको छ।
गत असार २६ गते मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएपछि प्राधिकरणले हेलिकप्टर उडानमा कडाइ गरेको हो। प्राधिकरणले त्यसयता मौसमको कारण सुरक्षालाई ध्यान दिँदै सेप्टेम्बर अन्तिम सम्मका लागि हेलिकोप्टरमार्फत हुने सामग्री ढुवानीलाई रोक लगाएको थियो।
खुम्बु क्षेत्रमा पर्यटक सिजन सुरु भएकाले यतिखेर लुक्लामा विदेशी तथा स्वदेशी पर्यटकको चाप क्रमिक रूपले बढिरहेको छ।