तरकारी बिक्रीस्थलको अतिक्रमण हटाउन माग

ओखलढुंगाः नागरिक समाजका अगुवाहरूले सदरमुकाम ओखलढुंगाको साप्ताहिक हटियामा किसानहरूका लागि बनाइएको तरकारी बिक्रीस्थलको अतिक्रमण हटाउन माग गरेका छन्।
जिल्ला पैरवी सञ्जालको तर्फबाट पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूले नगरपालिकालाई ध्यानाकर्षण बुझाउँदै कृषकहरूका लागि निर्माण गरिएको स्टलमा उनीहरूलाई निर्वाध बसेर तरकारी व्यापार गर्न दिने व्यवस्था गर्न माग गरिएको हो।
सञ्जालको तर्फबाट नगरप्रमुख तेजन खनाललाई ध्यानाकर्षण बुझाउँदै कृषकलाई हटियामा निर्माण गरिएका स्टलमा बसेर तरकारी बेच्ने वातावरण बनाउन माग गरिएको सञ्जालका बोध नारायण श्रेष्ठले जानकारी दिए।
उनले किसानका लागि बनाइएका टहरामा कपडा तथा खाद्यान्न व्यापारी बस्ने र गाउँबाट डोकोमा तरकारी बोकेर ल्याउने किसान कहिले झरिमा रुझेर, कहिले पानीमा भिजेर सडक पेटीमा बस्नु पर्ने बाध्यता रहेकाले ध्यानाकर्षण गराइएको बताए।
सिद्धिचरण नगरपालिका-१२ रहेको साप्ताहिक हटिया क्षेत्रमा पहिले छुट्टै कृषि उपज केन्द्र निर्माण गरेर तरकारी उत्पादक किसानलाई उपलब्ध गराइएको थियो।
सदरमुकाममा घर भएका वा भाडामा सटर लिएर कपडा तथा खाद्यान्न व्यवसाय गर्ने व्यवसायीहरूले अहिले कृषि उपज राख्ने स्थलमा कब्जा जमाएका छन्। किसानका लागि बनाइएको उपज केन्द्र नगरपालिकाले कार्यालयका रूपमा विकास गरेपछि किसानहरू सडकमा पुगेका हुन्।
हाल नगरपालिकाले निर्माण गरेका टहराहरू भने गैरकिसानले व्यवसाय गर्दै आएका छन्। उनीहरूमध्ये अधिकांशको हटियाभन्दा २०० मिटर वरपर घर तथा भाडाका सटर समेत छन्।
किसानलाई नगरपालिकाले निर्माण गरेका स्टल उपलब्ध गराए स्वच्छ र सफा तरकारी उपभोक्ताले पाउने तथा किसानले पनि घामपानीको क्षति व्यहोर्नुनपर्ने अभियन्ता विमला धमलाले बताइन्।
ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख खनालले नगरपालिकाले पशु बिक्रीस्थल तथा कृषि उपज बिक्रीस्थल उपयुक्त स्थानमा व्यवस्थापन गर्न काम सुरु गरेको बताए। उनले यसवर्ष बजेटमै व्यवस्था गरेर त्यस्ता संरचना बनाउने तयारी रहेको जनाए।
प्रतिक्रिया दिनुहोस !
