फेवा किनारमा हुँदै महोत्सव

पोखरा : विश्व पर्यटन दिवसको अवसरमा बुधबार पोखराका फेवाताल किनारमा मिनी सडक महोत्सव हुने भएको छ। ४४औं विश्व पर्यटन दिवसको नारा ‘टुरिजम एन्ड ग्रिन इन्भेस्टमेन्ट’ रहेको छ।
रेवान पोखराको अयोजनामा वाराहीचोकदेखि खहरेचोकसम्म साँझ ५ बजेदेखि मिनी सडक महोत्सवको आयोजना हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। महोत्सवमा नेपाल र भारतका विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरिने परिषद्का सचिव हरि भुजेलले जानकारी दिए।
पोखरामा रहेका पर्यटकलाई नेपाली कला, संस्कृतिसँगै नेपाली खानाका परिकार सडकमै पस्कने गरी एकदिने सडक महोत्सव हुन लागेको हो। कार्यक्रममा भारतीय टुर अप्रेटर र भारतीय मिडियालाई पनि निमन्त्रणा गरिएको बताइएको छ।
भारतीय राजदूत नवीन श्रीवास्तव पनि महोत्सवमा सहभागी हुने परिषद्का अध्यक्ष श्रेष्ठले जानकारी दिए। विश्व पर्यटन दिवसकै अवसरमा नाट्टा गण्डकी, टान पोखराले पनि विविध कार्यक्रम गर्ने जनाएका छन्।
यस वर्षको पर्यटन दिवसका नारा टुरिजम एन्ड ग्रिन इनभेस्टमेन्ट नेपालमा सन्दर्भमा महत्वपूर्ण रहेको परिषद्का अध्यक्ष श्रेष्ठले बताए। प्रकृति, वातावरण संरक्षण गर्दै पर्यटन विकासमा लाग्नु आजको चुनौती रहेको छ। मौसम परिवर्तन र दिगो अर्थतन्त्रको विकासको समाधान खोज्नु मूल चुनौती रहेको छ।
प्रतिक्रिया दिनुहोस !
