सजिसजाउ मनास्लु बेसक्याम्प
गोरखा : मनास्लु आधारशिविर दुलही अन्माउने घर झै सजिसजाउ छ। ४ हजार ८ सय मिटर उचाइमा रहेको बेसक्याम्पमा ३ सयभन्दा धेरै आरोही र उनीहरूका सहयोगीका शिविरले भरिभराउ छ। मनास्लु हिमाल आरोहणका लागि आएका आरोहीको चहलपहलले बेसक्याम्पमा चहलपहल उनी उस्तै छ।
८ हजार १ सय ६३ मिटर अग्लो विश्वको आठौं अग्लो मनास्लु आरोहणका लागि यो सिजनमा मात्र ३ सय १ जना आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ। ३ सय जना आरोही तथा उनीहरूका सहयोगीले आधार शिविर खचाखच भरिएको स्थानीय मिङ्मार लामाले बताए।
सामागाउँबाट करिब दुई घण्टाको पैदलयात्रामा पुगिने यहाँ मोबाइल सेवा, इन्टरनेट सेवाको समेत सुविधा रहेको छ। नुब्री उपत्यकाको दृश्य अवलोकन गर्न सकिने यहाँ अहिले आरोहणमा जाने र सफल आरोहण गरेर फर्कनेहरूको भीड लाग्ने गरेको लामाले बताए।
शरदको सिजनमा आरोहीले मनास्लु हिमाल आरोहण गर्छन्। यस वर्ष पर्यटन विभागबाट ३ सय ९५ जनाले विभिन्न हिमाल आरोहणको अनुमति लिएका छन्। मनास्लु आरोहणका लागि मात्रै ३ सय १ जनाले अनुमति लिएका छन्। २३ जनाले धौलागिरि, १० जनाले अमादब्लम, ५ जनाले चोयू र ४ जनाले मकालु आरोहणका लागि अनुमति लिएका छन्। हिमाल आरोहणबाट ३ करोड ९९ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन भएको छ। मनास्लु आरोहणको अनुमतिबापत मात्रै ३ करोड ३७ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ।
मनास्लु आरोहणका लागि अधिकांश पर्यटक लमजुङ, मनाङ हुँदै जाने गर्छन्। कतिपय आरोही हेलिकप्टरबाट पुग्ने गर्छन्। जसले गर्दा गोरखाका स्थानीय होटल व्यवसायी आरोहीका कारण लाभान्वित हुन नसकेको मनास्लु संरक्षण क्षेत्र होटल उपसमितिका संयोजक गणेश कार्कीको गुनासो छ। ‘मनास्लु हिमाल गोरखामा पर्छ। यतिबेला बेसक्याम्पमा नुब्री क्षेत्रका सबै गाउँबस्तीभन्दा ठूलो बजार लागेको छ। यस क्षेत्रको गाउँबस्तीमा भन्दा धेरै चहलपहल छ’, कार्की भन्छन्, ‘तर यसको लाभ गोरखाली व्यवसायीले भन्दा अरू जिल्लाका व्यवसायीले लिएका छन्।
आरोहीहरूलाई गोरखाकै पदमार्गबाट आवतजावत गर्ने व्यवस्था मिलाउन सके लाखौं खर्च गरी होटल, लज, टी हाउस व्यवसाय चलाएका स्थानीय व्यवसायीले राहत पाउन सक्थे।’ यसका लागि नीति निर्माण तहले चासो दिनु पर्ने उनको भनाइ छ।