ईःको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले अभियन्ता ईःको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह गरेको छ। बुधबार विज्ञप्ति जारी गर्दै आयोगले वार्ताको माध्यमबाट यथाशीघ्र ईःको समस्या समाधान गर्न सरकार र महानगरपालिकालाई ध्यानाकर्षण गराएको छ।
'धर्नामा रहेका व्यक्ति 'ईः'को स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजको जीवन रक्षाका लागि पहल गर्न, वास्तविक पीडित र साना सडक व्यवसायीहरूको पहिचान गरी उनीहरूलाई पेसा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न आयोग नेपाल सरकार र काठमाडौं महानगरपालिको ध्यानाकर्षण गराउँदछ। आफ्नो स्वास्थ्य र जीवन नै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रर्दशनका अन्य विकल्प खोज्न आयोग सम्बन्धित पक्षलाई पनि आग्रह गर्दछ,' आयोगको विज्ञप्तिमा भनिएको छ।
ईः अर्थात् इशान अधिकारी फुटपाथ व्यापारीको वकालत गर्दै विगत ८ दिनदेखि काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा छन्। आयोगका सदस्य लिली थापा नेतृत्वको उच्चस्तरीय टोलीले मंगलबार ईःलाई भेटेको थियो।
अनुगमनको क्रममा आयोगको टोलीले धर्नाको नेतृत्व गरिरहेका 'ईः' र उनका साथीहरू एवं धर्नास्थल वरपरका व्यापारीसँग छलफल गरेको थियो। 'रातिको १२ बजेदेखि ५ बजेसम्म कुर्चीमा बस्ने र बाँकी समय लौरो टेकेर उभिने गरेको, विगत ८ दिनदेखि उभिएर धर्ना गरिरहेका 'ईः'को दुवै खुट्टा अस्वभाविकरूपमा सुन्निएको, नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको, सुन्निएको कम गर्नका लागि चिकित्सकको सल्लाहबमोजिम असोज ८ गतेदेखि औषधि सेवन गरिरहेको लगायतका जानकारीहरू अनुगमनबाट पाइएको छ। महानगरपालिकाबाट यस विषयलाई संवेदनशील रूपमा नलिएको गुनासो प्रदर्शनकारीले गरेका छन्। आयोगले महानगरका अधिकारीहरूसँग छलफल गरी समस्या समाधानको लागि पहल गरिरहेको छ,' विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस !
