इन्द्रजात्राको महत्त्व

इन्द्रजात्राको महत्त्व
फाइल तस्बिर।

इन्द्रजात्रा नेपालमा मनाइने विभिन्न जात्रा पर्वहरूमध्ये एक अत्यन्त प्राचीन ऐतिहासिक येंया पुन्ही जात्रा हो। द्वादशीको दिन हनुमानढोका कालभैरवअगाडि भक्तपुरको नालाबाट मानन्धर गुथीले गुरुजु पल्टनका साथ विधिपूर्वक ल्याएको ३२ हाते काठको लिंगो उठाएपछि यो जात्रा सुरु हुने परम्परा छ। भाद्रशुक्ल द्वादशीदेखि आश्विन कृष्ण चतुर्थीसम्म जम्मा आठ दिन इन्द्रजात्रा भव्य रूपमा मनाइन्छ। हनुमानढोका दरबारअगाडि लिंगो ठड्याएपछि इन्द्रजात्रा थालिन्छ। नेवारीमा त्यस लिंगलाई योसीं भन्दछन्। सीं भनेको काठ वा लिंगो हो। जात्रा सुरु हुने केही दिनअगाडि भक्तपुरको पूर्वतिर पर्ने नाला गाउँमा काटेर अनि त्यहीं तयार गरेर त्यस लिंगलाई ठिमीका गाउँले र काठमाडौंका बासिन्दाले तानेर काठमाडौंमा ल्याई पुर्या‍उँछन्।

राजपुरोहित उपस्थित र हजारौं जनसमुदायबीच साय्मीहरूले त्यस लिंगलाई उचाल्छन्। बाजाहरू बजाइन्छ र सैनिकहरूले तोपको सलामी दिन्छन्। त्यस लिंगोको टुप्पाबाट इन्द्रध्वज अर्थात् इन्द्रको झन्डा भन्ने लामो सेतो कपडा लतारिएको हुन्छ। त्यसको फेदमा चाहिँ एक प्रकारको खोरमा इन्द्रको मूर्ति राखिएको हुन्छ। अरू–अरू ठाउँमा चाहिँ, हात बाँधिएका इन्द्रका मूर्तिहरू अग्लो मञ्चमा प्रदर्शन गरिन्छ। काठमाडौंको मूल सडक, इन्द्रचोकलगायत अन्य ठाउँहरूमा योसीं ठडाइन्छन्। तर हनुमान् ढोकाको लिंगोबाहेक अरू ठाउँका लिंगोमा ध्वजा राखिँदैन। यस प्रकारका ध्वजाबिनाको योसींले पुरानो किसिमको संकेत दिन्छ।

इन्द्रको नामसँग गाँसिएको यो जात्रालाई वैदिक देवता इन्द्रसँग सम्बन्ध देखाउँदा यसको सुरुवात कतै वैदिककालतिरै भएको त हैन भन्ने देखिएको छ। यसको प्रमाण खोजी गर्दा महाभारतकालसम्म पुग्न सकिन्छ। त्यसको आदिवर्षको ६३औं अध्यायमा उपरिचर बसुले इन्द्रध्वजको चलन चलाए भनी उल्लेख गरिएको छ। यस्तै वराहमिहिरले पनि इन्द्रध्वजको प्रथा उपरिचर बसुले चलाएको कुरा बताएका छन्। नेपालमा इन्द्रजात्राको प्रचलन धेरै विद्वानहरूका अनुसार लिच्छविकालतिरै सुरु भएको हुन सक्ने बताएका छन्। इतिहास शिरोमणि बाबुराम आचार्यले नेपालमा भारतीय गुप्त राजाहरूको अनुकरण गर्दै लिच्छवि राजा शंकरदेवले राज्यकालमा इन्द्रध्वजोत्थापन र बिसर्जनको चाड लागू भएको कुरा उल्लेख गरेका छन्।

उपत्यकावासीहरू इन्द्रजात्रालाई यलम्बर जात्रा, येंयाः पुन्ही वा काठमाडौं नगरको स्थापना दिवसका रूपमा पनि मनाउँछन्। कलिगत संवत् ३८२५ अर्थात् आजभन्दा १ हजार २ सय ७७ वर्षअघि राजा गुणकामदेवले पचली भैरवलाई बिँड र म्हैपीलाई शिरभाग गरी मञ्जुश्रीको खड्गाकार हुने गरी चारैतिर अष्ठमातृका स्थापना गरी काठमाडौं नगर निर्माण गरेको बताइन्छ। अर्काे आख्यानअनुसार प्रथम किराती राजा यलम्बर शिरछेदन गरिदिएको र आफ्ना पुर्खाको षड्यन्त्रपूर्वक हत्याको सार्वजनिक प्रदर्शनी गर्न जीवित देवी कुमारीलाई समेत देखाउन अहिले पनि इन्द्रचोकको आकाश भैरवको टाउको सार्वजनिक प्रदर्शनी गर्ने परम्परा कायमै छ।

इन्द्रको मूर्ति बाँध्नुको पछाडि नेपालमा चलेको अर्को पौराणिक कथन छ। जसअनुसार इन्द्रकीआमालाई बसुन्धराको व्रत–पूजाको लागि चाहिने पारिजातको पूmल र सुठुनी लिन इन्द्र स्वर्गबाट झरेर काठमाडौंको हालको ख्यःकेवः आई कुनै किसानको बगैंचाको फूल चोर्दै गर्दा पक्राउ परेछन्। उनका हात खुट्टा बाँधेर सबैको सामु देखाइयो। यो कुरा सुनेर इन्द्रकी आमा स्वर्गबाट ओर्लिछन्। अनि छोराको साटो धान र गहँु पाक्न नभई नहुने कुइरो र शीत दिएर उनलाई छुटाएर लगिछन्। तिनीहरूलाई चिने पछि काठमाडौंवासीले खुसीमा सिन्दूर जात्रा मनाए छन् र भोजको आयोजना गरेछन्। स्वर्गतिर फर्कंदा, आफ्ना स्वर्गवासी आफन्तहरूलाई हेर्ने रहर गरेर धेरै मानिसहरू इन्द्रकी आमाको पछि लागेछन् र उनको कम्मर समाएछन्। तर यंकी दह (इन्द्रदह) मा नुहाएर उनी स्वर्गतिर उड्न लाग्दा ती सबै भुइँमा पछारिए। र स्वर्गमा जान सकेनन्।

इन्द्रको मूर्तिलाई खोरमा थुनेर सबैलाई देखाएर पूजा गरिन्छ। यो प्रक्रियाले समाजमा गलत काम गरेमा देवताले समेत सजाय पाउँछन् भन्ने सन्देश दिन खोजेको देखिन्छ।

यस चाडको महŒवपूर्ण तŒवमध्ये पितृपूजा पनि एक हो। ठूलठूला पानसमा वा भुइँमा थुपै्र साना–साना बत्तीहरू बालिन्छ। हरेक घरको छानामा पनि एउटा धातुको भाँडामा बत्ती राखेर झुन्ड्याइएको हुन्छ। यस्ता कुरा मृतात्माहरूका नाउँमा गरिन्छ। द्वादशीको बेलुका जुनजुन घरमा वर्ष दिनभित्र मृत्यु भएको हुन्छ त्यस्ता घरका मानिसहरू भुइँमा थापिएका अनेक देवताका मूर्ति र प्रतिमाहरूलाई काँचो पाल्चामा कपासको बत्ती बाली परम्परागत मार्ग परिक्रमा गर्ने गर्दछन्। यसरी बत्तीदिने कार्यलाई ‘उपाकु वनेकु’ नाउँमा हजारौं भक्तजनहरूले मृतकका नाउँमा यसरी बत्ती दिन जाँदा विभिन्न समूहमा बाजा बजाउँदै जान्छन्। जुन प्रायः जसो धिमेबाजा नै बजाइन्छ। मृतकको नाउँमा नगरपरिक्रमा एक चक्कर पूरा हुँदा एउटा धर्मचक्र बन्ने गर्दछ भन्ने मान्यता रहेको छ। चतुर्दशीका दिनमा पनि त्यस्तै बत्ती चढाउने काम हुन्छ। जसलाई मतःव्युवनेगु भनिन्छ। यसबेला भने बत्ती बाल्ने काम कुमारी जात्रा हिँडाउने बाटोमा मात्र गरिन्छ। यस दिन डाकिनी भन्ने राक्षसीको जात्रा हो। जसमा त्यस वर्षभित्रमा जुन–जुन घरमा आफन्तहरू हराएका छन्, ती घरका सदस्यहरू सहभागी हुन्छन्। एउटा मुखुण्डो लगाएको ज्यापूलाई डाकिनी मानिन्छ। डाकिनीलाई डागीं पनि भनिन्छ। र स्वर्गतिर फर्कन लागेकी इन्द्रकी आमा सम्झिइन्छ। त्यसपछि बँ मत वा बाँसको घारामा बत्तीहरू बोकेका साय्मीहरूको जात्रा हुन्छ। यसलाई स्वर्गकोे बाटो उज्यालो पार्ने बत्ती मान्दछन्। त्यसबाहेक राति डागीं जात्राका धेरै सहभागीहरू काठमाडौंको पश्चिमतिर पर्ने दहचोक भन्ने ठाउँको यंकी दहमा गएर सखारै नुहाउँछन्।

यस समयमा सहरका विभिन्न भागमा र घरभित्र मानिसहरू प्रायः टाउका मात्र भएका देवताहरूको थपना गर्दछन्। सामूहिक रूपमा तिनीहरूलाई हाथु द्यो भनिन्छ। प्रायः भैरवलाई पितृहरूका प्रतीक मानिन्छ। हाथु द्यो देखाउने जात्रा चाहिँ तिनै मृतकहरूका नाममा गरिन्छ। अर्को तिर भैरवको पूजा बाहिरी सैनिक आक्रमण टार्न पनि गरिन्छ। तिनीहरू शिवका उग्ररूप भैरवका प्रतीक हुन्। श्वेत भैरव र आकाश भैरवको मुखमा चामलको जाँड रक्सी खन्याएर यसैलाई प्रसादको रूपमा ग्रहण गरिन्छ। आकाश भैरवलाई उपत्यकाका मानिसहरूको पुर्खा आजु द्यो (पितृदेवता) को रूपमा मानिन्छ। काठमाडौंको नाम यँ यलम्बबाटै भएको हो। यँया चाहिँ तिनै राजाको सम्झनामा मनाइने जात्रा हो भन्ने भनाइ रहेको छ।

चतुर्दशी, पूर्णिमा र चाडको अन्तिम दिन बेलुका जीवित देवी कुमारी र मानिसकै रूपमा उनका दुई अनुचर गणेश र भैरवलाई तीनवटा रथमा हालेर शोभायात्रा गरिन्छ। अन्तिम दिनमा समय् बजी बाँडीचुँडी खाने र थः नेतर्फ कुमारी रथयात्रा गरेपश्चात् नानीचायाः गरी इन्द्रजात्रा समापन गरिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.