चिनियाँ सीमा पार पास छापिँदै, एक साताभित्र वितरण भइसक्ने
गोरखा : गृह मन्त्रालयले तिब्बती सीमा पारका लागि पास बनाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन गरेको छ। विगत चार वर्षदेखि बन्द अवस्थामा रहेका नेपालसँगका सबै नाका खुला भएको जानकारी चिनियाँ सरकारले गराएसँगै गृह मन्त्रालयले सीमा पार गर्ने पास बनाउने निर्णय गरी जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरेको छ।
पास दिनू भनेर पासको डिजाइनसहित निर्देशन आएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले जानकारी दिए। ‘गृहबाट पास दिनू भन्ने व्यहोराको परिपत्र आएको छ,' सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले भने, ‘सबै जिल्लाको पासमा एकरुपता दिन गृहले नै पासको डिजाइन गरेर पठाएको छ। पास छपाइँचाहिँ जिल्लाले नै गर्नु पर्नेछ।’
जिल्ला प्रशासन कार्यालय गोरखाले पास छपाइका लागि छापाखानामा दिइसकेको सप्रजिअ रानाले बताए। ‘शुक्रबार छपाइ सकिन्छ। आइतबारभित्र हामी इलाका प्रशासन कार्यालय सिर्दिबासमा पठाइसक्छौं,' उनले भने, ‘पास लिनका लागि अरुले लगिदिएर हुँदैन। फोटो रुजु गरेरमात्र वितरण गरिने हुँदा व्यक्ति स्वयं उपस्थित हुनु पर्नेछ।’
पास पाउने भएपछि चुमनुब्री गाउँपालिकाका सीमा क्षेत्रका बासिन्दा खुसी भएका छन्। तिब्बतको जोङ्गा जिल्लाले सीमा नाका खुल्ला भइसकेको जानकारी दिएपछि सीमा क्षेत्रका जनप्रतिनिधिहरुले पास छिटो बनाइदिन जिल्ला प्रशासन कार्यालय र गृहमन्त्रालयमा बारम्बार अनुरोध गरिरहेका थिए। ‘धेरै जोडबल गरेपछि गृहमन्त्रालयले हाम्रो लागि धेरै ठूलो निर्णय गरेको छ,' चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले भने, ‘चार बर्षसम्म नाका बन्द हुँदा स्थानीयबासीलाई दैनिक उपभोग्य बस्तु किनमेल गर्न जान नपाएर समस्या परिरहेको थियो। अब त्यो समस्या समाधान हुने भयो।’
पास पाएपछि अब वडा नं. १, २, ४, ५, ६ र ७ का बासिन्दा रुइला र ङुइला नाका पार गरी दैनिक उपभोग्य सामग्री किनमेलका लागि नजिकको सहर जान जान आतुर रहेको उनले बताए। यसअघि चिनियाँ सरकारले गत २०७६ सालको पुसदेखि कोरोना महामारीको कारण देखाउँदै एकातर्फी रुपमा सीमा नाका बन्द गरेको थियो।