साताभित्रै सीमापार पास
गोरखा : गृह मन्त्रालयले तिब्बती सीमापारका लागि पास बनाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन गरेको छ। विगत चार वर्षदेखि बन्द अवस्थामा रहेका नेपालसँगका सबै नाका खुल्ला भएको जानकारी चिनियाँ सरकारले गराएसँगै गृह मन्त्रालयले सीमापार गर्ने पास बनाउन जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको हो।
पासको डिजाइनसहित निर्देशन आएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले जानकारी दिए। ‘गृहबाट पास दिनू’ भन्ने व्यहोराको परिपत्र आएको छ। सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले भने, ‘सबै जिल्लाको पासमा एकरूपता दिन गृहले नै पासको डिजाइन गरेर पठाएको छ। पास छपाइचाहिँ जिल्लाले नै गर्नु पर्नेछ।’ जिल्ला प्रशासन कार्यालय गोरखाले पास छपाइका लागि छापाखानामा दिइसकेको सप्रजिअ रानाले बताए। ‘शुक्रबार छपाइ सकिन्छ। आइतबारभित्र हामी इलाका प्रशासन कार्यालय सिर्दिबासमा पठाइसक्छौं’, उनले भने, ‘पास लिनका लागि अरूले लगिदिएर हुँदैन। फोटो रुजु गरेर मात्र वितरण गरिने हुँदा व्यक्ति स्वयं उपस्थित हुनु पर्नेछ।’ चुमनुब्री गाउँपालिका– ३ फिलिमस्थित इलाका प्रशासन कार्यालयले पास वितरण गर्ने उनले बताए।
सिमानाबाट ३० किलोमिटर आसपासका बासिन्दालाई मात्र सीमापार पास दिने प्रावधान रहेको छ। नागरिकता भएका व्यक्तिलाई मात्र पास दिने व्यवस्था रहेको गाउँपालिका कार्यालयले जनाएको छ। ‘नागरिकता र पास लिएर आउनू भनेर चिनियाँ पक्षले खबर गरेको छ’, पालिकाका अध्यक्ष लामाले भने, ‘त्यसैले नागरिकता भएकालाई मात्र पास दिनेछौं।’
पास पाउने भएपछि चुमनुब्री गाउँपालिकाका सीमा क्षेत्रका बासिन्दा खुसी भएका छन्। तिब्बतको जोङ्गा जिल्लाले सीमा नाका खुल्ला भइसकेको जानकारी दिएपछि सीमा क्षेत्रका जनप्रतिनिधिले पास छिटो बनाइदिन जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयमा बारम्बार तागेता गरेका थिए। चुमनुब्रीका अध्यक्ष निमा लामाले भने, ‘चार वर्षसम्म नाका बन्द हुँदा स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तु किनमेल गर्न जान नपाएर समस्या थियो। समस्या समाधान हुने भयो।’