देउडा संगीतमा संस्कृति

समाजको गरिबी, नदीमा पुल, पुलेसोको अभावमा यात्रुले अकालमा ज्यान गुमाउनु परेका जिन्दगीका दारुण कथा गीतमा छन्।
कर्मण्यवाधिकारस्तु मा फलेषु कदाचन
मा कर्मफलहेतुर्भूर्मा ते सङगस्त कर्मणी
भगवान् श्रीकृष्णले श्रीमद्भागवत गीतामा यसै भन्नुभएको छ। अर्थात् तिमी कर्म गर, फलको आशा नराख। कर्मले भविष्य जनाउँछ, मेहनत गर्न नछोड। भगवान्का यी वाणी शास्वत सत्य रहेछन्। प्रश्न आउँछ देउडा गीत संगीतको। सानो छँदा देउडालाई केवल गीतमात्र भनिन्थ्यो। गीत गाउन सानालाई वञ्चित गरिएको थियो। लुकिछिपी गाउनु बेग्लै कुरा। सार्वजनिक ठाउँमा गाउनुचाहिँ ‘जात’ गएसरह मानिन्थ्यो।
तर पनि सानोछँदा काँठाकापानी, बुँघाका डाडा, रौतीमेला, पतिउणी, स्याडा, पटाउटी आदि ठाउँमा गाईबस्तु, पाठाबाख्रा चराउँदा धेरै गीत गाएको छु। घरकाले थाहा पाउँदा निकै गाली पाउँथें। बुवा जगदीश उपाध्यायले त पिट्नु भएको छ। आमा भने माया गर्नुहुन्थ्यो। मागल गाउने भएकाले सायद माया गर्नुभएको होला। दाजु शुकदेव उपाध्याय, देवीचन्द्र उपाध्याय (जोशी)ले पनि गाली गर्नुभएथ्यो। साइलो दाजु जयकृष्णले यदाकदा गीत गाएको सुनेको छु। तिनै वनगीत स्कुलका कार्यक्रममा गाएँ। सदरमुकामस्थित सत्यवादी हाइस्कुलमा पनि गाएँ।
२०३४ सालमा काठमाडौं आएँ। दाजु देवीचन्द्रको मायाले राजधानी पुगेको हुँ। ठूलो दाइले गोजीमा ३ सय ७५ दाम राखेर पठाउनु भएथ्यो घरबाट। साथै पिठ्यूमा बोक्ने खकन्द्या झोला र बाटामा खान भुटेका मकै, भटमास, अलिकति चामल र पिठो पनि राखिदिनुभयो आमाले। असारको २५ गते घरबाट हिँडेको म साउन ५ गतेमा सिनामंगल दाजुको कोठा पुगें। १४ दिनको यात्रामा साथी थिए, अछामका योगेन्द्र शर्मा ! आजभोलि उनी कता छन्, थाहा छैन। काठमाडौंमा इन्जिनियर र कानुन विषय अध्ययन गर्न आएको म वाल्मीकि क्याम्पसमा भर्ना भएँ। संस्कृत छात्रावासमा ६ वर्ष बसेर वाल्मीकि र कीर्तिपुर क्याम्पसमा पनि उच्च शिक्षा हासिल गरे। अध्ययनका साथै रेडियोमा २०३४ कात्तिक १४ गते ‘फूलबारी’ नामक भाषाभाषीको कार्यक्रममा गीत गाएँ।
गीतको लय थियो– ‘ओ बाज झुम्य्रौली वाज।’ जुन खेलको भाका हो। लोकप्रिय भाका भएकोले वर्तमानसम्म संस्कृतिकर्मी यही भाकामा खेल खेल्ने गर्छन्। गीतलाई देउडा, ड्यौणा भनी परिभाषा दिने पहिलो व्यक्ति पंक्तिकार नै हो। डेढीकदम पाइताला उचालेर खेलिने र डेढपटक नै गीत गाउने प्रचलन भएकाले निकै मनन् गरेर यो परिभाषा दिएको थिएँ। रेडियो नेपालका तत्कालीन कार्यकारी निर्देशक राममणि रिसालले मेरो परिभाषा ठीक मानेर होला काली–कर्नालीका गीतलाई देउडा नै भनेको मन पराए। उनी कुनैबेला जुम्ला गएकाले सायद त्यहाँको गीतसंगीतमा अभिरुचि राखेर पनि देउडा भन्नु भएको होला। यही परिभाषा तत्कालीन नेपाल राजकीय प्रज्ञापरिषद्का प्राज्ञ रत्नाकर देवकोटा, वरिष्ठ गायक महाशंकर देवकोटा र बझाङका कवि भक्तबहादुर कल्पितले पनि बताएका थिए। २२ वटा गीति क्यासेट प्रकाशित गरेर सुदूरपश्चिमको बस्ती बस्ती रनवन, गाउँ, सहर र बजारमा आफूले गाएका र तयार पारें। कर्णाली, सेती, महाकालीमा देउडागीतले २०४३ देखि २०६० को दशक एकछत्र राज गर्यो।
२०३४ देखि २०५७ सालसम्म देउडागीत संकलन, गायन र प्रचारप्रसारमै समय बिताएँ। ४२ डिग्रीको तापक्रममा पनि धनगढी, महेन्द्रनगर, गड्डाचौकी, अत्तरिया, टीकापुर, नेपालगन्ज, सुर्खेत, डँडेलधुरा, बैतडी, डोटी अछाम, बाजुरा, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोटलगायतका बजारमा आफूले गाएका गीतहरू सुनाएर क्यासेट बिक्री वितरण गरेछु। जेठ–असारको गर्मीमा गीतहरू संकलन गर्दा र गीति क्यासेट बिक्री वितरण गर्दा महेन्द्रनगर पुग्दा पिसाबमा रगत बगेर एक साता बिरामी परेको थिएँ। २०४९ सालमा टीकापुरमा बेहोससमेत भएँ। त्यसबेला कर्णालीमा पुल बनेको थिएन, नेपालगन्जको रूपैडियादेखि भारतको बाटो हुँदै गौरीफन्टा नाका र वनवासा नाका भएर धनगढी र महेन्द्रनगर पुग्नुपथ्र्यो। झन्डै २५ वर्षसम्म देउडागीत गाउँदा, गीति क्यासेट तयार पार्दा, काठमाडौंदेखि सुदूरका बस्तीहरूमा पुर्याउँदा, प्रत्येक पसलमा आफैंले बिक्री गर्दा विविध
अनुभव बटुलेको छु। यसरी भोक, प्यास, पीडा, सुखदुःख सबै दिएको छ देउडाले।
डाँडा गाउन्या को हो को हो गैरी गाउन्या लछु
इन्द्र दुःखी कालो बादल, मान्छे दुःखी म छु।।
ती अनमोल गीति क्यासेटका न्वारनका नाम हुन्– नन्दकृष्ण जोशीका लोकगीतहरू, सेतीको सन्देश महाकालीको मौसम, कठैदैन, ओ बाज झुम्र्यौलीबाज, गलबन्दीमा रातो धागो, जमुना र सुवा, चुलीय, फुलीय, रैवार, तालमोरा, पातीभेर्या, साफ्याका साँझ, साथीभाइ, जौल्याधान, दाइलालै, मातृभूमि, आइगयो परेवा जोडी। त्यसबेला गीति क्यासेट विमोचन गर्ने प्रचलन थिएन। २०५७ सालमा ‘मातृभूमि’ नामक गीति, क्यासेट भने राजधानीमा भव्य समारोहबीच विमोचन गरियो। प्रत्येक क्यासेटमा समाविष्ट मौलिक भाकाका गीतहरू अनुसन्धानकर्ताका लागि व्याख्या विश्लेषणका खुला पाठ्यपुस्तक बन्न सक्छन्।
प्रत्येक गीतमा गहिरो भाव छ, हिमालका सेताम्मे शृंखलाको वर्णन, पर्वत र गुफा अनि हरियाली वनजंगल र घाँसे मैदानको चर्चा, गोठालाको जिन्दगीको आवाज गीतले बोलेको छ। प्रत्येक गाउँबस्तीका चालचलन, रीतिरिवाज, देवीदेवताका इतिहास, मानिसका बोली र भाषाको प्रयोग यी गीतमा पाइन्छ। समाजको गरिबी, नदीमा पुल, पुलेसोको अभावमा यात्रुले अकालमा ज्यान गुमाउनु परेका जिन्दगीका दारुण कथा गीतमा उल्लेख छन्। सौतेनीआमाको छोराछोरी माथि गरिने व्यवहार, बालविवाह, बहुविवाह, धन कमाउन गएका परदेशी छोराछोरीका पीडा, आमाले छोराको अभावमा सुर्ता मान्दै ज्यान गुमाएका जीवन्त र वास्तविक कथा पनि गीतमा वर्णन गरिएका छन्। छोर्याट्टा–छोर्याट्टीका बीच गीतमा वार्तालाप, मायाप्रिती, छोरीहरूले पढ्न नपाउँदाका छट्पटीको अन्तस्करणका व्यथा पनि मीठो शैलीमा अनमोलमणि बनेका छन् देउडामा।
वरिष्ठ संगीतकार, स्व. मदन परियार, स्व. गणेश परियारको मीठो सांगीतिक शिल्पीका प्रत्येक गीतले मनमुटु छुन्छ। देउडा गीतको संगीत, चट्टानबाट हाम फाल्दै बग्ने पानीका झरना जस्तै लाग्ने भएकाले संगीतको गहिराइ गीतमा भरपुर पाइन्छ। पितापुर्खा, जिया (हजुरआमा), इजा (आमा), बाज्या, बज्यै, बौजू (भाउजू) आदिले बोल्ने भाषा र लगाउने पहिरनको व्याख्या गीतमा गरिएकाले युवा पुस्ताले जस्तै प्रौढ पुस्ताले पनि यी गीत औधी मन पराउँछन्। बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड भनेजस्तै गीत, संगीत र संस्कृतिका पारखीहरूले माथि उल्लेखित गीति क्यासेट औधी माया गरेको देखेको छु।
यिनै कीर्तिले सायद २०५६ सालमा कैलालीको धनगढीमा सुदूरपश्चिमाञ्चल, साहित्य समाजले वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, साहित्यकार भक्तबहादुर बलायर, यज्ञराज यात्री, भालचन्द्र भण्डारी, पदमराज जोशीलगायत क्षेत्रका अग्रज स्रष्टाका अगाडि सो संस्थाले पंक्तिकारलाई ‘देउडा सम्राट्’को उपाधि दिएका थिए। यो सम्मान गरिब जनस्तरबाट संघर्ष गर्दै आएको स्रष्टाका लागि जीवनभरको कमाइ हो, जनताद्वारा प्रदान गरिएको उच्चतम संगीत र गायनको मर्यादा हो। पंक्तिकारले गाएका गीतमा सांगीतिक योगदान दिने कतिपय व्यक्तित्व र वाद्यवादक साथीहरू अहिले यो धर्तीमा हुनुहुन्न। वरिष्ठ मादलवादक सुन्दर श्रेष्ठ, युक्त गुरुङ, खड्ग बुढाको मादलको जादु, झलकमान गन्धर्व, तीर्थ गन्धर्व, जंगबहादुर गन्धर्वको सारंगी बाजाको गीतमा मिश्रित धुनले सबै लठ्ठ पर्थे।
अझ प्रेमराना औतारी, जेबी लामा, सुशील विश्वकर्माको बाँसुरी, मनोहर र दीपक सुनामको बेस गितार र गितार, दीपक क्षेत्रीको मेन्डुलियम गुञ्जन बिर्सी नसक्नुको छ। त्यसबेला गीत रेकर्ड गर्दा हार्दिकता थियो। सम्पूर्ण बाजा एकैसाथ बजाएर माइक अगाडि गीत गाउनु पथ्र्यो। संगीतको सागरमा डुबेर गीत गाउँदाको आनन्द शब्दमा उतार्न सकिन्न। त्यसैले यी गीत वर्तमानसम्म जीवन्त छन्। पछिल्ला पुस्ताका आसलाग्दा गायकगायिका गर्व गर्दै भन्छन्, ‘हाम्रा सांगीतिक गुरुले गाएका देउडा गीतहरू वास्तवमा गीति क्षेत्रका व्याकरण हुन्, हाम्रा पाठ्यपुस्तक हुन्।’ हुन पनि पंक्तिकारले २०३४/०३५ सालदेखि गाउँदै गाएका ती पुराना भाकाका शैलीलाई नयाँ पुस्ताले संगीतको नयाँ जलप लगाएर नयाँ शैलीमा गाएका सुनिन्छन्।
झन्डै दर्जन जति पंक्तिकारले गाएका झर्रा खालका देउडा भाकालाई नयाँ कलाकारले गाएका रहेछन्। अहिले समाज फरासिलो छ, सञ्चारले फड्को मारेकाले काम गर्न पनि सजिलो छ। हातहातमा मोबाइलका कारण संसार हत्केलामा घुमिराखेको छ। यो सबै लोकतन्त्रका कारण विकास भएको हो। विगतदेखि वर्तमानसम्म देउडा गीति संस्कृतिको विकासक्रम पनि यसैसँग जोडिएको छ।
प्रतिक्रिया दिनुहोस !
