नुवाकोटमा बजार अनुगमन, ३५ हजार बढीको अखाद्य सामग्री नष्ट
नुवाकोट : बजारमा गुणस्तरहीन वस्तुको बिक्री वितरण भइरहेको गुनासो आएपछि नुवाकोटमा बजार अनुगमन गरिएको छ । अनुमगमनका क्रममा किस्पाङबाट गुणस्तरहीन वस्तु जफत गरी नष्ट गरिएको हो।
संयुक्त बजार अनुगमन टोलीले नुवाकोटको पश्चिमी भेगमा रहेको किस्पाङ गाउँपालिकाको विभिन्न १४ वटा किराना पसल, होटेल, मासु पसल र औषधि पसलको शुक्रबार अनुगमन गरेको हो । एकै दिन किस्पाङ गापा २, ३ र ५ मा रहेका ती पसल व्यवसायमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोटको जिल्ला बजार अनुगमन समितिद्वारा अनुगमनका क्रममा अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट गरिएको गरिएको घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटले जनाएको छ । मापदण्ड विपरित गरिएको फेला परेपछि २ वटा पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरी कुल १० हजार रुपैयाँ राजश्व संकलन भएको कार्यालय प्रमुख किशोर सापकोटाले जानकारी दिए ।
उनका अनुसार किस्पाङ २ को ऋतु सप्लायर्सलाई ५ हजार, किस्पाङ २ कै न्यौपाने खाद्य स्टोर्सलाई नगद ५ हजार रुपैयाँ नगद जरिवाना गराइएको हो । अनुगमनका क्रममा अन्य कतिपय पसलहरुलाई समेत मापदण्ड अनुसार सञ्चालन गर्न निर्देशन दिइएको छ ।
यसका साथै बजार अनुगमनको क्रममा म्याद नाघेका, लेबल नभएका तथा मापदण्ड विपरितका विभिन्न सामग्रीसमेत गरी कुल ३५ हजार ५ सय १५ रुपैयाँ बराबरको अखाद्य वस्तु जिल्ला बजार अनुगमन समितिको रोहवरमा नष्ट गरिएको घरेलु कार्यालयका प्रमुख किशोर सापकोटाले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा सबै पसलमा मापदण्ड तथा गुणस्तरीयताका सम्बन्धमा वजार अनुगमन गरिएको छ ।
बजार अनुगमनको क्रममा देखिएका कमजोरी तत्काल हटाउन निर्देशन दिंदै, सुधार गर्न र केही व्यवसायीलाई आवश्यक कागजातसहित घरेलु तथा साना उद्योग कार्यालय विदुर, नुवाकोटमा उपस्थित हुन निर्देशन दिइएको कार्यालय प्रमुख किशोर सापकोटाको भनाई छ ।
सर्वसाधारणले भने वर्षको एक-दुई पटक औपचारिकता निभाउन मात्र बजार अनुगमन गर्ने गरेको गुनासो गर्दै यसलाई निरन्तरता दिन माग गरेका छन् ।
दसैं, तिहार तथा नयाँ वर्ष आसपासको समयमा मात्रै बजार अनुगमन हुने गरेको र अन्य बेलामा भने अनुगमन नहुने गरेको उपभोक्ता बताउँछन् । खाद्य वस्तुमा गुणस्तरीयताको स्वस्थ्यताको विषयमा उपभोक्ताहरुले उजुरी तथा गुनासो गरिरहेका छन् ।