भारोत्तोलनमा सारदा पाँचौं

हाङचाओ : भारोत्तोलनअन्तर्गत समूह ‘बी’ को महिला ६४ केजीमा नेपालकी सारदा चौधरीले स्न्याचमा ७० र क्लिन एन्ड जर्कमा ८८ केजी गरी जम्मा १५८ केजी भार बहन गरेकी छन्। आफ्नो समूहमा सारदा पाँचौं स्थानमा रहिन्। स्न्याचमा सारदाले पहिलो लिफ्टमा ७० केजी र तेस्रो लिफ्टमा ७४ केजी उचाल्ने प्रयास गरेपनि सफल हुन सकिनन्।
सारदाले क्लिन एन्ड जर्कमा उठाएको ८८ केजी पहिलो लिफ्टमा हो। सारदाले क्लिन एन्ड जर्ककै दोस्रो र तेस्रो लिफ्टमा समान ९४–९४ केजी भार बहन गर्ने प्रयास गरेकी थिइन्। यसैसँगै भारतोलनमा नेपाली महिला खेलाडीको यात्रामा पूर्णविराम लागेको छ। यसअघि टिकामाया गुरुङले प्रतिस्पर्धा गरेका थिइन्। पुरुष खेलाडी विशालसिंह विष्ट, विकास भट्ट र सागर भण्डारीले चुनौती प्रस्तुत गर्न बाँकी छ।
यसैगरी महिला भलिबलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको छ। हाङचाओ नर्मल युनिभर्सिटी कान्चिन जिम्न्याजिममा एक घण्टा १२ मिनेट चलेको खेलमा दक्षिण कोरियाले नेपाललाई २५–२१, २५–१४, २५–११ ले पराजित गरेको हो।
समूह ‘सी’ को पहिलो खेलमा नेपाल भियतनामसँग २५–४, २५–१६, २५–१३ ले सिधा सेटमा पराजित भएको थियो। लगातार दुई हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले क्लासिफिकेसन म्याच भने खेल्न बाँकी छ। एसियाडको महिला भलिबलमा नेपालले पहिलो पटक सहभागिता जनाएको हो।
प्रतिक्रिया दिनुहोस !
