ग्रामीण भेगमा आँखा परीक्षण शिविर
नुवाकोट : सर्वसाधारणको सुविधाका लागि नुवाकोटका विभिन्न स्थानमा आंखा उपचार परीक्षण शिविर सञ्चालन गरिएका छन्। आंखाको परीक्षणबाट पहिचान भएकाहरूको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिने छ।
नुवाकोट सामुदायिक आँखा केन्द्र विदुर र तिलगंगा आंखा प्रतिष्ठानको आयोजनामा पूर्वी भेगमा रहेको बेलकोटगढी नगरपालिका ९ बाघखोरमा १ दिने मोतियाविन्दु पहिचान शिविर सम्पन्न भएको छ। उक्त शिविरमा ८५ जनाले आँखा परिीक्षण गरेका छन्।
जसमध्ये ६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिनुपर्ने भएको छ। उनीहरूको विदुरमा तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्ररोग विशेषज्ञद्वारा नुवाकोट सामुदायिक आँखा केन्द्रको शल्यक्रिया कक्षमा मोतियाविन्दुको शल्यक्रिया गरिने केन्द्रका प्रमुख तारा वाइवाले जानकारी दिए।
यसका साथै नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङ गापाको देउरालीमा १ दिने मोतियाविन्दु छनौट शिविर सम्पन्न भएको छ। उक्त शिविरमा १ सय २७ जनाले आँखा परीक्षण गरेकामा २५ जनाको मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने पहिचान भएको छ। असोज २२ र २३ गते विदुरमा तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्ररोग विशेषज्ञद्वारा आंखाको मोतियाविन्दुको शल्यक्रिया गरिने केन्द्रका अध्यक्ष निरन्जनप्रसाद आचार्यको भनाइ छ। यसका साथै बिदुर नगरगाउँपालिकामा विद्यालय शिक्षक तथा विद्यालय नर्सहरूका लागि एक दिने आँखाको प्राथमिक उपचार तालिम सम्पन्न भएको छ।