खाद्यान्न र पुस्तक पसलबाट पेट्रोल बिक्री

बागलुङ : बागलुङका खाद्यान्न र पुस्तक पसलबाट पेट्रोलियम पदार्थ बिक्री हुने गरेको पाइएको छ। काठेखोला गाउँपालिकाले गरेको चाडबाड लक्षित अनुगमनको क्रममा केही खाद्यान्न र पुस्तक पसलबाट पेट्रोलियम पदार्थ (पेट्रोल)को बिक्री वितरण हुने गरेको भेटिएको हो।
गाउँपालिका– ५ का खाद्यान्न पसल र पुस्तक पसलमा बोतल र ड्रममा पेट्रोलियम पदार्थ राखेर बिक्री वितरण गरेको भेटिएको उपाध्यक्ष तेजबहादुर थापा (तिलक)ले जानकारी दिए। गाउँपालिकामा खाद्यान्न र पुस्तक पसल सञ्चालन गर्न पसल दर्ता गरिए पनि अनुगमनको क्रममा सोही पसलबाट पेट्रोलियम पदार्थ पनि बिक्री वितरण गरिरहेको भेटिएको उपाध्यक्ष थापाले बताए।
पेट्रोलियम पदार्थ बिक्रीका लागि नेपाल आयल निगमबाट स्वीकृत प्राप्त गरेर पेट्रोलपम्प सञ्चालन गर्नुपर्ने हुन्छ। तर, बागलुङका गाउँगाउँमा खुल्ला रूपमा बोतल र ड्रममा पेट्रोलियम पदार्थ राखेर बिक्री वितरण गरिन्छ। नेपाल सरकारले बोतलमा पेट्रोलियम पदार्थको बिक्री वितरणमा रोक लगाए पनि त्यसको कार्यान्वयन नभएको अनुगमनको क्रममा भेटिएको हो।
उपाध्यक्ष थापाले अनुमति नलिई बिक्री भइरहेको पेट्रोलियम पदार्थलाई पसलबाट तत्काल हटाउन निर्देशन दिएको बताए। ‘पहिलो पटक लापरबाही देखिएकोले हामीले तत्काल हटाउन निर्देशन दिएका छौं,’ उपाध्यक्ष थापाले भने, ‘नहटाई अटेरी गरेर बिक्री गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गर्छौं।’
अनुगमनको क्रममा मासु पसल (फ्रेस हाउस)मा मापदण्ड नपुगेको र सोही पसलबाट मादक पदार्थसमेत बिक्री भएको पाइएको छ। मासु पसलबाट मादक पदार्थ पनि बिक्री भएको भेटिएपछि उपाध्यक्ष थापाको टोलीले एक साताभित्र छुट्टाछुट्टै पसल दर्ता गरेर सञ्चालन गर्न निर्देशन दिएको छ। यस्तै अधिकांश पसल दर्ता भए पनि नवीकरण नगरेको पाइएको उपाध्यक्ष थापाले बताए। दर्ता नभएका र नवीकरण नगरेका पसललाई तत्काल दर्ता र नवीकरण गर्न अनुगमनको टोलीले निर्देशन दिएको छ। अनुगमनमा मुख्य गरी पेयपदार्थ, तयारी खाद्यपदार्थ, औषधि तथा म्याद गुज्रेका बिउ–बिजनलाई पसलबाट हटाउन लगाइएको थियो।
दसैं–तिहारजस्ता चाडबाडको मुखमा म्याद गुज्रेका तथा गुणस्तरहीन सामग्री बिक्री हुन सक्ने सम्भावना देखेर काठेखोला गाउँपालिकाका उपाध्यक्ष थापाको नेतृत्वमा मुख्य बजार वडा नम्बर २ को अक्षेते बजार, ६ को सुल्डाडा, इनारपानी, ५ को रिजालचोक, पोखरा र घोडाबाँधेमा अनुगमन गरिएको थियो। उपाध्यक्ष थापाले नागरिकलाई खाद्य सुरक्षाको बारेमा जानकारी र सचेतना गराउनुका साथै बिक्रेतालाई पनि सजग गराउनको लागि अनुगमन गरिएको बताए। उनले बिक्रेतालाई अहिले खाद्य सुरक्षाको बारेमा जानकारी र सचेत गराएको बताउँदै अझै अटेर गरेमा कानुनबमोजिम कारबाही गरिने बताए। कालोबजारी नियन्त्रण तथा खाद्य गुणस्तर कायम गर्ने बजार अनुगमनले सहयोग पुग्ने उपाध्यक्ष थापाको भनाइ छ।
गाउँपालिकाका उपाध्यक्ष थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेल, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, पत्रकार र प्रहरी चौकी दोबिल्ला र प्रहरी चौकी बिहुँ बागलुङको टोलीले संयुक्त रूपमा अनुगमन गरेको थियो।
प्रतिक्रिया दिनुहोस !
