क्याम्पसमा भर्ना मात्रै, हुँदैन पढाइ
‘३–४ वर्ष भयो पठनपाठन नभएको प्रायः विद्यार्थी विभिन्न पेसामा कार्यरत कर्मचारीहरू हुनुहुन्छ। फर्म भर्न, परीक्षा दिन र प्रयोगात्मकमा मात्रै आउनुहुन्छ।’
गोरखा : १६ वर्षअघि स्थापना भएको गोरखाको परोपकार आदर्श क्याम्पस जौबारीमा पढाइ हुन छाडेको छ। सिरानचोक गाउँपालिका–८ जौबारीमा रहेको सो क्याम्पसमा विगत चार वर्षदेखि पढाइ हुन छाडेको क्याम्पस प्रशासनले जनाएको छ।
स्नातक तहका विद्यार्थी संख्या अत्याधिक न्यून भएको र शिक्षक पनि नभएपछि क्याम्पसमा पढाइ हुन छाडेको क्याम्पस प्रशासनले जनाएको छ।
‘तीन–चार वर्ष भयो, पठनपाठन नभएको’, प्रशासनिक एकाइमा कार्यरत कर्मचारी विनायक सिलवालले भने, ‘बीएड पहिलो वर्षमा ६ जना छन्। दोस्रो वर्षमा ४ जना, तेस्रो वर्षमा ५ जना, चौथो वर्षमा ४ जना मात्रै विद्यार्थी छन्। सबैजना टाढा–टाढाका विद्यार्थीहरू हुन्। त्यसमाथि पनि सबै विद्यार्थी विभिन्न पेसामा कार्यरत कर्मचारीहरू हुनुहुन्छ। फर्म भर्न, परीक्षा दिन र प्रयोगात्मकमा मात्र आउनुहुन्छ। अरू बेला विद्यार्थीहरू पनि आउनु हुन्न। पूर्णकालीन र आंशिकतर्फ शिक्षकहरू पनि हुनुहुन्न।’
यहाँ शिक्षा, अंग्रेजी, स्वास्थ्य र नेपाली विषयमा पढ्न भर्ना गर्ने गर्छन्।
परोपकार आदर्श बहुमुखी क्याम्पस २०६४ सालमा स्थापना भएको हो। त्यतिबेला शिक्षा र व्यवस्थापन संकाय सञ्चालन हुने गरी खुलेको सो क्याम्पसमा अहिले व्यवस्थापन संकायमा विद्यार्थी छैनन्। शिक्षा संकायतर्फ जम्मा १९ जना मात्रै विद्यार्थी छन्। क्याम्पस प्रमुख पनि छैनन् । आंशिक तथा पूर्णकालीन शिक्षकहरू पनि नभएको क्याम्पसले जनाएको छ।
परोपकार आदर्श मावि जौबारीबाट कक्षा १२ उत्तीर्ण गरेकाहरू पनि यहीँको क्याम्पसमा भर्ना नहुने र छरछिमेकका विद्यालयबाट पनि विद्यार्थी भर्ना हुन नआउनाले समस्या भएको क्याम्पस व्यवस्थापनले जनाएको छ। ‘गाउँका हाइस्कुलहरू रित्तिँदै गएका छन्। अलिअलि भएका विद्यार्थीहरू पनि कक्षा ११, १२ उत्तीर्ण गरेपछि कोही पढ्न छाड्ने र कोही विदेशतिर जाने क्याम्पस सञ्चालक समितिका अध्यक्ष मनुबहादुर गुरुङ बताउँछन्।
‘गाउँठाउँ यस्तै हो, आर्थिक अवस्था कमजोर भएकाहरू १२ कक्षा उतीर्ण भएपछि पढ्नै छोडिदिन्छन्, अलिअलि राम्रो आर्थिक अवस्था भएकाहरू सहरतिर जान्छन्’, गुरुङ भन्छन्, ‘विदेश पढ्न र वैदेशिक रोजगारीमा जाने समस्या त अन्यत्रभन्दा हाम्रोमा झन् बढी छ। यो समस्या हाम्रो क्याम्पसमा मात्रै होइन, अरू क्याम्पसहरूमा पनि उस्तै छ।’ यस्तै हालतमा क्याम्पस सञ्चालन गरिरहने वा नगर्ने भन्ने बारेमा बहश नभएको उनले बताए।