मकवानपुरमा चाडपर्वका लागि ८१७ प्रहरी
हेटौंडा : मकवानपुरमा चाडपर्वहरूमा सम्भावित हुनसक्ने आपराधिक गतिविधि र सवारी दुर्घटना न्यूनीकरणका लागि मकवानपुरमा ८ सय १७ जना प्रहरी खटिने भएका छन्।
यसका लागि मकवानपुर प्रहरीले हेटौंडा-१४ स्थित रातोमाटेमा एम्बुलेन्स सहितको यात्रु हेल्प डेस्कको स्थापना समेत गरिसकेको मकवानपुर प्रहरी प्रमुख एसपी सीताराम रिजालले बताए।
हेटौंडा-११ थानाभर्याङमा चालक निगरानीका लागि अस्थायी रिफ्रेससेन्टरको स्थापना, चाडपर्वको समयमा कुनै पनि यात्रु नठगिउन भन्ने उद्देश्यले सुमो काउन्टर क्षेत्रमा प्रहरीले यात्रु सहायता कक्षको स्थापना र आरक्षण सिटको स्टिकर मेटिएका सार्वजनिक यातायातमा स्टीकर टाँस्ने काम समेत सुरु गरिएको उनले बताए।
चाडपर्व लक्षित सचेतनाका लागि तयार पारिएका जिंगलहरू बजार चोकमा मात्र नभई जिल्लाभरिका विद्यालयहरूमा बिहान राष्ट्रगान बजाएर विद्यार्थीहरूलाई जानकारी गराउने व्यवस्था मिलाएको उनले बताए।
प्रहरीहरू सुरक्षा नाका, अस्पतालका बिरामी रेफर, लामो दूरी सवारी चेकजाँच, यात्रु सहायक कक्षजस्ता सुरक्षा कार्यमा प्रहरी खटाई सकेको उनले बताए।