प्रधानाध्यापक बन्न मापदण्ड निर्धारण
स्याङ्जा : वालिङ नगरपालिकाले प्रधानाध्यापक चयनमा केही मापदण्ड निर्धारण गरेको छ। पालिकाले तोकिएका मापदण्ड पुगेकाबीच खुला प्रतिस्पर्धा गराई प्रधानाध्यापक चयन गर्ने भएको हो।
सामुदायिक विद्यालयका शिक्षामा गुणस्तरीयता बनाउने उद्देश्यले आधारभूत र माध्यमिक तहका सबै विद्यालयमा योग्यता एवं प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरिने भएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए।
नगरका आधारभूततर्फका ८ वटा र माध्यमिकतर्फ १६ वटा विद्यालय छन्। पहिले चरणमा आधारभूत र दोस्रोमा माध्यमिक तहमा प्रतिस्पर्धा गराइने भएको छ।
प्रधानाध्यापक हुनका लागि आधारभूत तहमा शिक्षा शास्त्रमा संकायमा स्नातक र माध्यमिक तहमा ५ वर्ष स्थायी सेवागरी स्नातकोत्तर उत्तीण हुनुपर्ने योग्यता राखिएको छ। अथवा १० वर्ष स्थायी सेवा र स्नातक गरेको शिक्षक प्रधानाध्यापक हुनसक्ने बताइएको छ।
यसैगरी, सवै सरकारी कर्मचारी, जनप्रतिनिधि र सामुदायिक विद्यालयका शिक्षकहरूले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनका लागि आग्रह गरेको छ।