मुस्ताङमा चीन प्रवेश पास वितरणको तयारी
जोमसोम : मुस्ताङको कोरला नाका सञ्चालनमा आउने तयारी भएसँगै चीन प्रवेश पास वितरणको तयारी थालिएको छ।
अनुमतिपत्र बुकलेट छपाई सम्बन्धी सबै काम पूरा भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। ‘गृह मन्त्रालयको बोर्डर पास नमुना केहीअघि हामीलाई आइपुगेको थियो, मुस्ताङमा छपाइसम्बन्धी काम नहुँदा ढिलो हुन पुग्यो, प्रजिअ पन्तले भने,‘हामीले पोखरा कर्मचारी पठाएर बुकलेट छपाइको काम सक्यौं, अब मंगलबारदेखि सीमा क्षेत्रका नागरिकलाई बोर्डर पास वितरण कार्य सुरु गर्छौं।’
बोर्डर पास वितरणका लागि सोमबार जोमसोमबाट ४ जना प्रशासनका कर्मचारी इलाका प्रशासन कार्यालय लोमान्थाङमा खटाइसकेको प्रजिअ पन्तले बताए।
इलाका प्रशासन कार्यालय लोमान्थाङमा लामो समयदेखि प्रमुख छैनन्। यसैकारण बोर्डर पास अनुमति पत्रका लागि पूरा गर्नुपर्ने मापदण्ड र शर्तसहितको सूचना सोमबार जिल्ला प्रशासन कार्यालयले जारी गरेको प्रजिअ पन्तले बताए।