भित्री बुटवल सडक र पुलले फेरियो
बुटवल : २०३७ सालदेखि आफू बस्दै आएको ठाउँलाई ८६ वर्षीय नरबहादुर खत्री अहिले झल्झल्ती विगतलाई सम्झन्छन्। विगतका ती कष्टकर दैनिकी सम्झँदा उनलाई अहिले पनि निद्रा पर्दैन। बुटवल बजार आउजाउ गर्नका लागि गतिलो सडक र पक्की पुल नहुँदाका पीडा उनको मनमा अझै पनि ताजै छ।
बटौली (पुरानो बुटवल)देखि नजिकै भएर पनि त्यसबेला उनको ठाउँले ‘सुदुरको कर्णाली’ को उपमा पाइरहेको थियो। तर, त्यसबेला र अहिलेको मोतीपुर क्षेत्रको परिवर्तन नरबहादुरको आँखा अगाडि भएको देख्दा उनी दंग छन्। ‘ज्यानलाई जोखिममा राखेर खोला वारपार गर्दथ्यौँ’,बुटवल उपमहानगरपालिका–१९ पत्थरगंजका ८६ वर्षीय खत्रीले भने, विगत सुनाउँदै भने, ‘ती दिन र यी दिन सम्झँदा यस्तो पनि हो र ? जस्तो लाग्छ।’
नुन तेल र दाल चामल लिन बजार गर्न तिनाउँ खोला तरेर जानुपर्थ्यो। दैनिक जीविकाका सामग्री ल्याउन बजार आउजाउ गर्दा धेरैको अकालमै तिनाउ, दानव नदीमा बगेर ज्यान गएको खत्री सुनाउँछन्। पक्की पुल नभएकै कारण यहाँका नागरिकले झेल्नुसम्म कष्ट झेलेको उनको भनाइ छ।
विवाहकै दिन तिनाडेर बजार जानुपर्ने बाध्यता अहिले यस क्षेत्रका नागरिकले भोग्नु परेको छैन। खोलाले दुलाहलाई खोलाले बगाएको घटना उनलाई ताजा छ। पुर्ख्यौली घर गुल्मीको चन्द्रकोट गाउँपालिका शान्तिपुरका खत्री ३७ वर्षदेखि बसाइ सरेर यस क्षेत्रमा आएका हुन्। तिनाउ र दानव नदीमा पुल नहुँदा घण्टौँ पैदल हिँडेर बजार जानुपर्ने बाध्यता अहिले यस क्षेत्रका नागरिकले भोग्नुपरेको छैन ।
पत्थरगन्जमै २०३२ सालमा जन्मिएका स्थानीय ४७ वर्षीय विनोद मरासिनीले पनि आफूले धेरै कष्ट भोगेको अनुभव सुनाए। अर्घाखाँचीको मालारानी गाउँपालिकास्थित मरेङबाट उनका बुवाआमा नै बसाई सरेर यहाँ आएका हुन्। ‘हामी बसेको ठाउँमा २०३८ सालमा तिनाउको बाढी आएको मलाई अझै पनि याद छ’,उनले भने, ‘यहाँका जनताले पहिले धेरै दुःख पाए।’ पूर्व पश्चिम राजमार्ग आफू बसेको ठाउँबाट बढीमा तीन किलोमिटर दुरीमा छ।
बुटवल देविनगर, मिलनचोक, ट्राफिक चोक र पुरानो बुटवल पनि बढीमा पाँच किलोमिटरकै दूरीमा पर्छन्। तर, खोलामा पुल नहुँदाको पीडा धेरै वर्ष भोग्नुपरेको उनको उनले सुनाए। ‘हामीले त कति दुःख पायौँ, पायौँ’, मरासिनीले भने, ‘तर अहिलेका पिँडीले पहिलेको जस्तो दुःख भोग्नुपरेको छैन।’ तर, मरासिनी अहिलेको विकासमा पनि त्यती सन्तुष्ट छैनन्। क्रमागत रूपमा हुने विकास मात्र भएको टिप्पणी गर्दै उनले नागरिकहरूको जीवनशैली परिवर्तन हुने खालका योजनाहरू राज्यले सञ्चालन गर्न नसकेको गुनासो पोखे।
गोरु गाडामा घण्टौं समय लगाएर सामान बाक्नुपर्ने बाध्यताबाट मुक्ति पाए पनि अहिलेका नेताले सोचेअनुसार विकास नगरेको उनले दुःखेसो पोखे। पुल नभएकै कारण झोलुंगे पुल क्षेत्र, नहरपुर क्षेत्र र मजुवा क्षेत्रको बस्ती खोलाले बगाएको उनले विगत सुनाए।
पूर्वाधार निर्माणले सुगम बनाएको यस क्षेत्रलाई कृषिको बृहतर विकास गर्नेगरी राज्यले लगानी गर्नुपर्ने उनको सुझाव छ। ‘पुल, बाटा बन्नु मात्र विकास होइन्’,उनले भने,‘अब यसलाई जनताको रोजी रोटीसँग जोडिने गरी आय आर्जनका कार्यक्रम आउनुपर्छ।’ यस क्षेत्रमा हाटबजार सञ्चालन, फोहोरमैला व्यवस्थापन, दिगो तटबन्धन, बैंक तथा वित्तीय संस्था र अस्पताल सञ्चालनको खाँचो परेको उनले सुनाए।
कुनैबेला एउटा पनि पक्कीपुल नभएर झेल्नु कष्ट झेलेका यहाँका नागरिकहरू अहिले चारैतिर पुल बनेको देख्दा दंग छन्। यस क्षेत्रमा दर्जनौ बढी पक्कीपुलहरू बनेका छन्। बुटवल पुरानो र नयाँ बजार जोड्ने पक्की पुल, देविनगर हाटीसुढ पुल देबीनगर बुद्धनगर, मैनाबगर मजुवा जोड्ने पक्कीपुल, बुटवल १३ र १५ जोड्ने जितगढीको दानव नदी पक्की पुल, नयाँगाउँ दुर्गानगर सडक जोड्न् दानव नदीकै पक्कीपुलले बुटवललाई घेरेको छ।
त्यस्तै, कर्साघाट सैनामैना सेमलार सडकलाई जोड्ने पुल, तामनगर र सेमलार जोड्ने अर्को पुल, सिसवा कोलुवा खड्क बनगाई जोड्ने पुल र मणीग्राम मोतीपुर सडक जोड्ने पक्कीपुल निर्माण सम्पन्न भइसकेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ।
विकट बनेको भित्री बुटवल अहिले सुगमको बाटोमा लम्किएको बुटवल उपमहानगरपालिका-१४ का वडाध्यक्ष दधिराम न्यौपानेले सुनाए। साविक मोतीपरु, सेमलार, फर्साटिकर, मानपकडी, मानमटपरिया, छपियाँ विकासको मूल प्रवाहमा जोडिएका छन्।
पुल बनेकै कारण बुटवल उपमहानगरपालिकाको वडा नम्बर १४, १५, १६, १७, १८, १९ र वडा नम्बर ११ को मजुवा नहरपुर क्षेत्रसहित शुद्धोधन र सियारी गाउँपालिका अहिले सुगम बनेका छन्।
यहाँका जनता अहिले पुल माग्न आउँदैनन् : विष्णु पौडेल
रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य एवं नेपाल सरकारका पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिले रुपन्देही क्षेत्रका नागरिकहरू पक्की पुल बनाउने माग लिएर आफूसँग आउन छाडेको अनुभव सुनाए। ‘अहिले बुटवलका जनता पुलको माग लिएर म कहाँ आउनुहुन्न’, पौडेलले भने, ‘आवश्यक पर्ने सबै ठाउँमा पुलको योजना परिसक्यो।’
रुपन्देही क्षेत्रमा विकासको रोडमोडलका रूपमा यहाँका नागरिकले विष्णु पौडेललाई लिने गर्दछन्। यस क्षेत्रमा बनेका पक्कीपुलसँगै अर्को महत्वपूर्ण योजनाका रूपमा बेलवास–बेथरी सडकलाई लिएका छन्। यो सडक पनि उनै पौडेलको विशेष चासो र योगदानकै कारण निर्माण भएको हो। झोलुंगेपुल बेलवासदेखि बेथरीसम्म यो सडक निर्माणको अन्तिम चरणमा छ। बीचमा नहर र वारपारी दुई दुई गरी फोर लेनको सडकले पनि कुनै बेला विकट मानिएका गाउँ बस्तीहरूलाई समेट्दै जाने छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भइरहवा र पर्यटकीयस्थल लुम्बिनी पुग्न यो सडक धेरै उपयोगी हुने देखिएको छ। बेलवासबाट बेथरीसम्मको दूरी २१ किलोमिटर छ। सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीमार्फत निर्माण भइरहेको यस सडकको ३ दशमलव २ किलोमिटर मात्र निर्माण पूरा गर्न बाँकी रहेको कार्यालयका सिनियर डिभिजनल इन्जिनियर लालु गिरीले जानकारी गराए। योबाहेक तिनाउ र दानव करिडोर पनि यस क्षेत्रको समृद्धिको अर्को महत्वपूर्ण योजना हो।
चारैतिर बनेका पक्कीपुल र बेलवास बेथरी सडक यहाँको समृद्धिको आधार रहेको बुटवल उपमहानगरपालिका-११ का सदस्य एवं युवा नेता नकुल शाहीले प्रतिक्रिया दिए। ‘यस क्षेत्रको विकास र समृद्धिका लागि हामी दिनहुँ लागिपरेका छौँ’, शाहीले भने, ‘सडक र पुल बनेपछि यहाँ लगानीको क्षेत्र समेत फैलिँदै जान थालेको छ।’ ठूला ठूला होटल, कटेज, बाटरपार्क, व्यावसायिक कृषि खेती र बस्ती विकासको चहलपहल बढ्दै गएको छ।