'टिट फर ट्याट' गर्न बाध्य नपार्न मुख्यमन्त्री पाण्डेद्वारा माओवादीलाई चेतावनी
गोरखा : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘टिट फर ट्याट’ गर्न आफूहरुलाई बाध्य नपार्न गठबन्धन दल माओवादीलाई चेतावनी दिएका छन्।
शुक्रबार गोरखामा आयोजित कांग्रेसको जिल्ला भेलामा बोल्दै पाण्डेले माओवादीका जनप्रतिनिधिबाट कांग्रेसप्रति असह्य व्यवहार भएकोले जस्तालाई तस्तै व्यवहार गर्न आफूहरु बाध्य हुने अवस्था आएको बताए।
माओवादीले कांग्रेसप्रति पुरानै शैली देखाएर मुढेबलका कुरा गर्न थालेमा कांग्रेस चुप लागेर नबस्ने उनले चेतावनी दिए। ‘हिजोका धङ्धङी निकालेर फेरि उही मुड्की र बलका कुरा गर्ने हो भने नेपाली कांग्रेस त्यति कमजोर छैन। तपाईँहरुले मारिरहँदा पनि लडिरहेको पार्टी हो, भागिरहेको पार्टी होइन,' उनले भने, ‘त्यसैले म भन्छु, तपाईँहरुले जे मागिरहनु भएको छ, त्यो हामीले दिनुपर्ने अवस्था सिर्जना नहोओस्।’ गठबन्धनका पार्टीबीच सुमधुर सम्बन्ध नभएर तनाबपूर्ण सम्बन्ध रहेको गुनासो गाउँगाउँबाट आइरहेको उनको भनाइ छ।