पाँचपटक म्याद थप्दा पनि सडकको अवस्था उस्तै

पाँचपटक म्याद थप्दा पनि सडकको अवस्था उस्तै
सुन्नुहोस्

बुटवल : भित्री बुटवलको भविष्यसँग जोडिएको बेलवास-बेथरी सडक योजना ठेकेदारले समयमै काम नगर्दा अलपत्र परेको छ। बेल्वासदेखि बेथरीसम्मको २१ किलोमिटर दूरीको उक्त सडकलाई तीन भागमा विभाजन गरेर कालोपत्रे गर्ने योजना हो। बीचमा नहर, वारीपारी सात/सात मिटरको चारलेन पक्की सडक बनाउने योजना ठेकेदारको ढिलासुस्तीले अलपत्र छ।

तीन खण्डमध्ये बेल्वासदेखि बेतहनीसम्मको साढे आठ किलोमिटरमध्ये ३ दशमलव २ किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी छ। त्यस खण्डमा काम गर्नेगरी बज्रगु्रप-कान्छाराम जेभी काठमाडौंले सडक पूर्वाधार विकास कार्यालय मणीग्राम रुपन्देहीसँग सम्झौता गरेको छ। 

कार्यालय र कम्पनीबीच भ्याटसहित ६० करोड ८८ लाख ६१ हजार ४ सय ८३ रुपैयाँमा योजना पूरा गर्नेगरी सम्झौता भएको सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका अधिकृत (छैठौँ) प्राविधिक सन्तोष कुमार चौधरीले जानकारी दिए। उनका अनुसार त्यस क्षेत्रमा ५८ प्रतिशत मात्र काम पूरा भएको छ। ४२ प्रतिशत काम अँधुरै छ। 

२०७३ साल असारमा गरिएको योजनाको २०७६ साउन १४ गतेसम्म निर्माण पूरा गरिसक्नुपर्ने सम्झौता छ। समयमै काम नसकेको भन्दै कार्यालयले पाँच पटकसम्म म्याद थप्दा समेत ठेकेदारले योजना पूरा गरेका छैनन्। 

यात्रुहरू धेरै ओहोरदोहोर गर्ने बेल्वासदेखि नहरपुर, मोतीपुर क्षेत्रमै सडक कालोपत्रे नहुँदा यात्रुहरूले हैरानी खेप्नुपरेको छ। बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकले नागरिकहरू दिक्क परेका छन्।

सडक योजनाको दुवैतिर चार/चार मिटरको साइकल लेन र फुटपाथ बनाउने समेत सम्झौता छ। सडक योजना सुरु र बीचमा कामले गति लिँदा उत्साहित भएका यस क्षेत्रका नागरिकहरूले अहिले अलपत्र देख्दा निरास भएका छन्। ​​​​​​​गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवा र लुम्बिनी दर्शन गर्न जाने नागरिकहरूका लागि यो सडक पश्चिम क्षेत्रका नागरिकहरूलाई धेरै सहज छ।

विमानस्थल र लुम्बिनी पुग्नका लागि पश्चिम क्षेत्रका नागरिकहरूलाई यो सडक भएर आउजाउ गर्न धेरै सजिलो हुने बुटवल उपमहानगरपालिका-११ का वडासदस्य एवं नहरपुरका स्थानीय नकुल शाहीले बताए। ‘यो सडक हाम्रा लागि सपनाको योजना हो’,शाहीले भने,‘तत्कालिन अर्थमन्त्री विष्णु पौडेललाई पटकपटक दवाव दिएर हामीले सडक बनाउन पहल गर्‍यौँ। तर, अहिले ठेकेदारले काम नगर्दा अलपत्र परेको छ, हाम्रा लागि यो धेरै दुःखको कुरा हो।’ 

उनले काम नगर्ने ठेकेदारसँगको सम्झौता रद्द गरेर नयाँ विकल्प खोज्न समेत सम्बन्धित निकायलाई सुझाव समेत दिए। सडक पूरा गर्नका लागि पटकपटक कार्यालयमा ज्ञापनपत्र बुझाउँदा समेत काम हुन नसकेको उनले प्रतिक्रिया दिए। 

कुल २१ किलोमिटर मध्ये बेतनी-भागदारीसम्म साढे आठ किलोमिटर र भागदारी-बेथरी चार किलोमिटरसहित साढे १२ किलोमिटर दुई खण्डको कालोपत्रे गर्ने काम रमन-कन्सट्रक्सन जनकपुरले सम्पन्न गरिसकेको छ। उक्त खण्डको काम पूरा गरी रमनले भ्याट सहित ९० करोड रुपैयाँ भुक्तानी लगेको सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीले जनाएको छ। 

काम पूरा गर्नका लागि निर्माण व्यवसायीलाई पटकपटक ताकेता गरिएको सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका सिनियर डिभिजनल इन्जिनियर लालु गिरीले जानकारी गराए। ‘काम गर्नुस् भन्दा ठेकेदारले आफ्ना मात्र समस्या सुनाइरहेका छन्’,गिरीले भने,‘यो पहिले संघ अन्तर्गतको योजना थियो। प्रदेशमा हस्तान्तरण भएको दुई वर्ष पनि भएको छैन। हामी जसरी पनि अँधुरो कामलाई पूरा गर्न पहल गरिरहेका छौ।’ 

उनले यो योजना कार्यालयको प्रतिष्ठासँग पनि जोडिएको विषय भएको प्रतिक्रिया दिए। बढ्दो महंगी र आर्थिक अभावले गर्दा समयमै काम गर्न नसकिएको ठेकेदार लक्ष्मण रानाले प्रतिक्रिया दिए। ‘बाँकी रहेको काम दशैँ लगत्तै सुरु गर्छु, केही महिनामै पूरा हुन्छ’,रानाले भने,‘योजनाको म्याद पनि सकिएको छ। म्याद थपेर भएपनि अब काम रोकिन्नँ।’

उनले निर्माणधीन सडक क्षेत्रमा निर्माण सामग्री पनि राखेको जानकारी गराए। सुरुमा सडक डिभिजन बुटवल, त्यसपछि सडक डिभिजन शिवपुर कपिलवस्तु र त्यसपछि सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीमा यो योजना हस्तान्तरण भएको हो। 

सडक पुराभएपछि बुटवल उपमहानगरपालिका सहित शुद्धोधन गाउँपालिका, सियारी गाउँपालिका, गढवा गाउँपालिका, मायाँदेवी गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका लगायत क्षेत्रका नागरिकहरू प्रत्यक्ष लाभांवित हुनेछन्। 

उक्त स्थानीय तहका भित्री बस्तीका नागरिकहरूलाई बुटवल, भैरहवा लगायत सहरमा जानका लागि समेत यस सडक बहुउपयोगी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.