बुक बिल्डिङमा आईपीओ, दसैंअघि ‘ब्रेकथ्रु’

बुक बिल्डिङमा आईपीओ, दसैंअघि ‘ब्रेकथ्रु’

काठमाडौं : कुनै सामान्य व्यवसाय गरिरहेको कम्पनी आईपीओ जारी गर्न चाहन्छ भने उसले प्रतिकित्ता १०० रुपैयाँ वा सेयर संख्यालाई टुक्र्याएर १० रुपैयाँको गुणक हुने मूल्यमा जारी गर्न सक्छन्।

तर, राम्रो व्यवसाय गरिरहेको र लगानीकर्तालाई उच्च प्रतिफल दिन सक्ने कम्पनी फेस भ्यालुमा आईपीओ जारी गर्न चाहँदैनन्। आफ्नो व्यावसायिक इतिहास, क्षमताका आधारमा पनि प्रतिकित्ता सय रुपैयाँ असुहाउँदो हुन जान्छ। यही विषयलाई मध्येनजर गर्दै धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले केही वर्षअघि प्रिमियममा आईपीओ जारी गर्न पाउने व्यवस्था गर्‍यो। तर, प्रिमियम मूल्य तय गर्ने विषयमा आईपीओ जारी गर्ने कम्पनी हाबी हुने भएकाले यसलाई पनि उत्तम विकल्प मानिएन।

प्रिमियमको व्यवस्था अनुसार कम्पनीले महसुस गरेको मूल्यमा धितोपत्र बोर्डले सहमति जनाए आईपीओ जारी गर्न सकिन्छ। व्यवस्थाअनुसार पछिल्लो तीन वर्षको क्यापिटलाइज्ड अर्निंग, डिस्काउन्टेड क्यास फ्लो र अन्तर्राष्ट्रिय प्रचलनको आधारमा मूल्यांकनकर्ताले अपनाएको कुनै एक विधि अवलम्बन गरी प्राप्त हुने कुल मूल्यको औसत मूल्य गणना गर्नुपर्छ। यसरी कायम भएको औसत मूल्य र कम्पनीको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरणअनुसारको प्रतिसेयर नेटवर्थको दुई गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ सो रकमलाई प्रिमियम कायम गर्नुपर्छ।

यो प्रक्रियाअनुसार कुनै कम्पनीको आईपीओलाई सर्वसाधारण लगानीकर्ता कति मूल्य तिर्न तयार छन् भन्ने थाहा हुँदैन। यसैका लागि अन्तर्राष्ट्रिय अभ्यासमा सबैभन्दा वैज्ञानिक मानिएको बुल बिल्डिङ प्रक्रिया अबलम्बन गर्न निर्णय भयो। त्यो थियो, बुक बिल्डिङ प्रक्रिया। यसको निर्देशिका ल्याएर बोर्डले समयसापेक्षा संशोधन पनि गर्‍यो।

बुक बिल्डिङ प्रणालीले उच्च नाफा कमाउने कम्पनीहरूलाई आफ्नो नेट वर्थको उचित मूल्यमा सेयर जारी गरी सेयर बजारमा प्रवेश गर्न प्रोत्साहित गर्छ। बुक बिल्डिङ प्रणालीको मार्फत बजारमा स्थापित तथा उत्कृष्ट वित्तीय विवरण भएका कम्पनीहरूले उचित मूल्यमा सेयर जारी गर्ने अवसर सिर्जना हुन्छ। जसबाट धितोपत्र बजारको विकासमा सघाउ पुग्ने विश्वास गरिन्छ। साथै, वास्तविक क्षेत्रका कम्पनीहरूलाई आईपीओ जारीमार्फत पुँजी परिचालन गरी पुँजी बजारमा प्रवेश गर्न थप मद्दत पुग्छ।

बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्दा आईपीओ जारी गर्ने कम्पनीले निष्कासन तथा विक्री प्रबन्धकको सहयोगमा योग्य संस्थागत लगानीकर्तासँग उनीहरूले चाहेको न्यूनतम खरिद संख्या, आशय मूल्य र सो को मूल्यांकन विधिसहित प्रारम्भिक विवरणपत्रमा सुझाव माग हुन्छ, त्यसपछि योग्य संस्थागत लगानीकर्ताले आवश्यक अध्ययन गरी आशय मूल्य पेस गर्छन्। त्यही आशय मूल्यको आधारमा बिक्री मूल्य सीमा (कट अफ मूल्य) निर्धारण हुन्छ। यो मूल्यमा योग्य संस्थागत लगानीकर्ताले सेयर खरिद गर्छन् भने सर्वसाधारणले यो मूल्यको १० प्रतिशत कम तिर्नुपर्नेछ।

कसरी हुन्छ मूल्य निर्धारण ?

पुँजीबजारमा वित्तीय क्षेत्रका कम्पनीको बाहुल्यता रहँदा वास्तविक क्षेत्रका कम्पनीलाई ल्याउने सबैभन्दा दरिलो प्रयास बुक बिल्डिङ थियो। यही प्रयासको नतिजा स्वरूप सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स बुक बिल्डिङमार्फत आईपीओ जारी गर्ने अनुमति माग्दै बोर्डसम्म पुगे। २०७९ असारमै ती कम्पनीले अनुमति मागे पनि विविध झमेलाका कारण अनुमति पाउन सकेनन्।

बुक बिल्डिङ प्रक्रिया अनुसार लिड–अन्डरराइटरले निष्कासन मूल्यको दायराभित्र सम्भावित योग्य लगानीकर्ताहरूबाट उनीहरूले खरिद गर्न चाहेको सेयर संख्या र तिर्न चाहेको मूल्यको विवरण संकलन गर्छ।

मानौं, कुनै कम्पनीको वित्तीय मूल्यांकन प्रतिसेयर ५ सय रुपैयाँ छ। यो रकममा २० प्रतिशतले घटबढ गर्दा हुने आउने ६ रुपैयाँ र ४ स यरुपैयाँबीच कहीँ पनि निष्कासन मूल्यको दायरा तोक्न सकिन्छ। लिड–अन्डरराइटरले निष्कासन मूल्यको दायरा ५२०–५५०रुपैयाँ  दिएको छ भने ५२० रुपैयाँ न्यूनतम आधार मूल्य (फ्लोर प्राइस) र ५५० रुपैयाँ अधिकतम मूल्य (सिलिङ प्राइस) हुन्छ। लगानीकर्ताले यही दायराभित्र रहेर आफ्नो आशय व्यक्त गर्नुपर्छ।

सम्भावित लगानीकर्ताबाट माग गरिएको सेयर संख्या र मूल्यलाई तालिका बनाएर भारित औसत मूल्य गणना विधिद्वारा निष्कासनको मूल्य निर्धारण गरिन्छ। यही भारित औसत मूल्य नै निष्कासन मूल्य (कट–अफ प्राइस) हो। बुक–बिल्डिङ विधिको मुख्य प्रयोजन यही हो।यसअघिको उदाहरणअनुसार भारित औसत मूल्य ५३५ रुपैयाँ आयो भने यो नै अन्तिम निष्कासन मूल्य हुन्छ।

मूल्य निर्धारणपश्चात् लिड–अन्डरराइटरले लगानीकर्ताहरूले खरिद गर्न चाहेको सेयर संख्या र तिर्न चाहेको मूल्यको विवरणलाई सार्वजनिक जानकारीका लागि प्रकाशित गर्छ। लगानीकर्तालाई निष्कासन मूल्य ५३५ रुपैयाँ प्रतिसेयरका दरले उनीहरूको मागको अनुपातमा सेयरको बाँडफाँड गरिन्छ। ५३५ रुपैयाँभन्दा बढीमा आवेदन गर्नेले बढी रकम फिर्ता पाउँछ। योभन्दा कममा आवेदन गर्नेले सेयर खरिद गर्न चाहेमा थप रकम जम्मा गर्नुपर्ने हुन्छ, तर उनीहरू यो खरिद गर्न बाध्य हुँदैनन्। बुक–बिल्डिङमा निष्कासन कार्य १५ दिनमा सक्नुपर्ने व्यवस्था छ। अहिले बुक बिल्डिङ प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताबीच क्रस होल्डिङ देखिएकाले बुक बिल्डिङ प्रक्रियाले गति नपाएर बसेको छ।

किन भयो ढिलाइ ?

बुक बिल्डिङमार्फत आईपीओ जारीको अनुमति दिन नेपाल धितोपत्र बोर्डबाट ढिलाइ भएको छ। योग्य संस्थागत लगानीकर्ता र आईपीओ जारी गर्ने कम्पनीबीच क्रस होल्डिङ अध्ययन गर्दा यो प्रक्रिया अल्झिएको छ।

हालसम्म बुक बिल्डिङबाट आईपीओ नै जारी गर्ने गरी काम अघि बढाइए पनि प्रक्रियागत झमेलाले ४ महिना ढिलो भएको बोर्डका एक उच्च अधिकारी बताउँछन्। यद्यपि दसैंअघि नै कम्तिमा एउटा कम्पनीलाई आईपीओ जारी गर्ने अनुमति दिइने उनको भनाइ छ। ‘नेप्सेका अधिकारी, इस्यु म्यानेजर, बुक बिल्डिङ कम्पनीका प्रतिनिधि, बोर्डका प्रतिनिधिसमेतबाट केवाइबीमा क्रसहोल्डिङले ढिला भएको कुरा आएको छ,’ ती अधिकारीले भने।

आईपीओ जारी गर्ने र खरिदको आशय राख्ने कम्पनीका सञ्चालक, संस्थागत वा अरू लगानीकर्ता एउटै भए मूल्य वास्तविक नहुन सक्छ। यसर्थ, योग्य संस्थागत लगानीकर्ता र आईपीओ जारी गर्ने कम्पनीको विषयमा राम्रो अध्ययन हुन आवश्यक छ।
मानौं, ‘क’ कम्पनीको आईपीओ जारी हुँदैछ। ‘ख’ र ‘ग’ कम्पनी योग्यसंस्थागत लगानीकर्ता छन्। ‘ख’ र ‘ग’ का सञ्चालक, संस्थापक र अन्य सेयरधनी वा तिनको प्रतिनिधि ‘क’ को सञ्चालक, संस्थापक वा अन्य सेयरधनी छन् वा उनीहरूबीच पारिवारिक वा व्यावसायिक सम्बन्ध छ भने मूल्यमा फेयर प्रतिस्पर्धा नहुन सक्छ।

ती अधिकारीले भने, ‘कागजात मूल्यांकन र प्रमाणीकरणमा ढिलाइ भएको हो।’ बोर्डलाई पनि नातागोता पर्ने, व्यावसायिक साझेदार भएको वा आफैं, एउटै ग्रुपका मान्छे पो लुकेर बसेका छन् कि भन्ने हेर्न बिना कुनै सूचना जटिल विषय बनेको छ। कोही व्यक्ति स्वयम् नभएर प्रतिनिधि पठाएको पनि हुन सक्ने र उसको अरु व्यवसायमा साझेदारी पनि हेर्नुपर्ने स्थिति छ।

यद्यपि, दसैं अगाडि एउटा आईपीओ अनुमति प्रदान हुने स्रोत बताउँछ। यसअघि बुक बिल्डिङमार्फन् आईपीओ जारीको अनुमति दिने काम असार मसान्तसम्म सक्ने लक्ष्य बोर्डको थियो।

केवाइबी भ्यालिडेसनपछि योग्य संस्थापक आवेदनकर्ताले कटअफ मूल्यमा आईपीओ खरिद गर्नेछन्। पछि सर्वसाधारणले कटअफ मुल्यको १० प्रतिशत कममा आवेदन दिन पाउनेछन्। जारी गर्न लागको आईपीओ ४० प्रतिशत संस्थागत लगानीकर्ता र ६० प्रतिशतमा सर्वसाधारणलाई बिक्री गरिनेछ। संस्थागत लगानीकर्ताले ६ महिनासम्म यो सेयर बेच्न पाउने छैनन्।

रिलायन्स र सर्वोत्तमको अवस्था कस्तो ?

दुवै कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल हो। कम्पनीले सबै प्रक्रिया सकेर कागजात बोर्डमा बुझाएको छ। सर्वाेत्तम सिमेन्टले बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्न गत वर्षको असार २८ गते बोर्डमा निवेदन दिएको थियो। रिलायन्स स्पिनिङ मिल्सले सोही असार ३१ गते निवेदन दिएको थियो।

सर्वाेत्तम सिमेन्टले प्रतिकित्ता ५ सय १ देखि ७ सय ५१ रुपैयाँ १० पैसासम्ममा बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी गर्ने अनुमति मागेको छ। कम्पनीले २४ लाख कित्ता सेयर निष्कासन गर्न लागेको र सो प्रयोजनको नेतृत्व ग्लोबल आइएमई क्यापिटलले गरिरहेको छ। रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले प्रतिकित्ता ६ सय ८ रुपैयाँदेखि ९ सय १२ रुपैयाँसम्ममा बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी गर्ने लागेको छ। कम्पनीले ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर निष्कासन गर्न लागेको हो। यसको पनि बिक्री प्रबन्धकतर्फको नेतृत्व भने ग्लोबल आईएमई क्यापिटलले गरिरहेको छ।

सर्वाेत्तमले निष्कासन अनुमति माग्दै २०७९ असार २८ गते बोर्डमा निवेदन दिएको थियो भने रिलायन्सले असार ३१ गते निवेदन दिएको थियो। सर्वाेत्तम सिमेन्टको मूल लगानीकर्ता विष्णु न्यौपाने हुन भने रिलायन्स स्पिनिङ मिल्सका मुख्य लगानीकर्ता उद्यमी पवन गोल्यान हुन्।
अहिले दुवै कम्पनी यसअघिका योग्य संस्थागत लगानीकर्ताको प्रतिबद्धता पुष्टि गराउँदा यसअघि तय गरिएको कटअफ मूल्य हेरफेर भएको छ। रिलायन्सको मुल्य बढेर आएको छ भने सर्वोत्तमको मूल्य घटेको छ। 


बुक बिल्डिङ भन्नाले के बुझिन्छ र कसरी गरिन्छ ?

धितोपत्रको आईपीओ जारी (आईपीओ जारी) साधारणतया दुई विधिबाट हुने गर्दछः निश्चित मूल्य विधि र बुक विल्डिङ विधि। निश्चित मूल्य विधिबाट आईपीओ जारी गर्दा धितोपत्रको अंकित मूल्य वा अंकित मूल्यमा प्रिमियम थप गरी तोकिएको मूल्यमा गर्ने गरिन्छ।

 null

बुक विल्डिङ विधिमार्फत आईपीओ जारी गर्दा बजारले निर्धारण गरेको मूल्यमा हुने गर्दछ। बुक बिल्डिङ आईपीओ जारी गर्ने एक प्रक्रिया हो जसमा निष्काशनकर्ता कम्पनीले प्रस्ताव गरिने मूल्य निर्धारण गर्ने प्रयास गर्दछ।

बुक बिल्डिङमा निम्न प्रक्रिया रहन्छः

  • निष्कासनकर्ता कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकको परामर्शमा प्रारम्भिक विवरणपत्र तयार गर्दछ।
  • विवरणपत्रमाथि  योग्य संस्थागत लगानीकर्ताहरूलाई सहभागी गराई कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको सहभागितामा छलफल कार्यक्रम सञ्चालन गरी बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्तासँग निजले चाहेका न्यूनतम खरिद संख्या, आशय मूल्य र सो को मूल्यांकन विधिसहित प्रारम्भिक विवरणपत्रमा सुझाव माग गर्दछ।
  • योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त भएको आशय मूल्यका आधारमा निष्कासनकर्ता कम्पनीले धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गरी मूल्य सीमा भित्रको आशय मूल्य पेस गरेका योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल प्रक्रियामा सहभागी गराई धितोपत्रको बिक्री गर्छ।
  • आशय मूल्य पेश गरेका योग्य संस्थागत लगानीकर्ताले बोलकबोलका लागि आवेदन गर्न आशय मूल्य पेस गर्दा उल्लेख गरिएको धितोपत्र संख्या र मूल्यभन्दा कम हुने गरी बोलकबोल गर्न पाइँदैन भने कुनै एक योग्य संस्थागत लगानीकर्ताले निष्काशित धितोपत्रको २० प्रतिशतभन्दा बढी धितोपत्रको लागि बोलकबोल प्रस्ताव पेश गर्न पाईंदैन। यसरी धितोपत्र बिक्री गर्दा कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारणलाई ६० प्रतिशत धितोपत्र निष्काशित गरी बिक्री गर्नुपर्दछ।

कस्ता कम्पनीले बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्न सक्छन् ?

  •  विगत तीन आर्थिक वर्षदेखि लगातार खुद मुनाफामा सञ्चालनमा रहेको।
  •  प्रतिसेयर नेटवर्थ प्रति सेयर चुक्ता पुँजीको कम्तीमा १५० प्रतिशत रहेको।
  • कम्तीमा औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङ पाएको।

बुक बिल्डिङ र प्रिमियममा आईपीओ जारी गर्ने बीच के फरक छ ?
बुक बिल्डिङ विधिबाट गरिने आईपीओ जारीमा मूल्य निर्धारण बजारलाई छोडिएको हुन्छ भने प्रिमियम निर्धारण गरी गरिने आईपीओ जारीमा मूल्य निर्धारण प्रकृया नियामक निकायबाट निर्देशित हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.