सेयर बजार, हल्ला र युवा

सेयर बजार, हल्ला र युवा

नेपालको पुँजीबजार ओपन क्राई सिस्टमदेखि अर्धस्वचालित प्रणाली पार गर्दै आजको अभौतीकरण कारोबारको अवस्थामा आइपुगेको छ। तर पनि नेपालको पुँजीबजार पूर्ण रूपमा विकसित हुन सकिरहेको छैन। अहिलेसम्म पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप हुन नसक्नु लगानीकर्ताका लागि विडम्बना नै हो।

२१औं शताब्दीको आवश्यकता र माग अनुरूपको विश्व परिवेशसँग प्रतिस्पर्धा गर्न सक्ने पुँजीबजारको विकासका निमित्त धेरै काम गर्नुपर्ने देखिन्छ। आर्थिक विकासको लागि पनि पुँजीबजारको विकास अपरिहार्य छ। चार दशक बढीको समय काटिसक्दा पनि बजार अझैं बामे सर्दै छ। यसर्थ पनि पुँजीबजारको विकास र विस्तारमा सरकार, नियामक निकाय, लगानीकर्ताहरूसहित अन्य सरोकारवालाले ध्यान दिन अपरिहार्य छ।

पुँजीबजारको विकास र विस्तारको लागि लगानीकर्ताले उठाएका र सम्बन्धित निकायमा बुझाएको बजार सुधार सुझाव तथा सुधारका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सहमति भए पनि कार्यान्वयन हुन सकिरहेको छैन। यस्ता काम गर्नुभन्दा समिति र उपसमिति गठन गर्ने परिपाटीले पुँजीबजारप्रति लगानीकर्ताको भरोसा टुट्दै गएको छ। जायज मागहरू समयमै सम्बोधन नहुनाको साथै सम्बन्धित निकायहरू आ–आफ्नो जिम्मेवारीबाट बिमुख रहँदा पुँजीबजार धराशायी बन्दै गइरहेको महसुस हुन्छ। पुँजीबजार सुध्रिन नसक्नुको कारण यही नै हो। पुँजीबजारलाई प्रविधिमैत्री बनाई लगानीकर्तालाई सूचना प्रविधि नीति लागू गरी बजार र लगानीकर्ताको क्षमता अभिवृद्धि गर्नुपर्छ। बजार विकास र विस्तार गर्दै स्वच्छ, पारदर्शी र अत्याधुनिक बनाउँदै लैजानु पर्ने आजको टड्कारो आवश्यकता देखिएको छ। लगानीकर्ताको हकहित संरक्षण गर्दै, संस्थागत सुशासन कायम गर्दै पुँजीबजारको जोखिमलाई न्यूनीकरण गर्दै, पुँजीबजारको विकास गर्ने कार्यमा दतचित्त भएर लाग्नु नै आजको आवश्यकता हो।

लगानीकर्ता समस्यामा पर्दा बलेको आगोमा घिउ थप्ने काम पक्कै पनि गर्नु हुँदैन सरकारको अग्रसरतामा बजारको समस्या र त्यसको सम्बोधनको प्रयास गर्नुपर्छ। मूकदर्शक नबनी संकट परेको बेला उद्दार गर्नुपर्छ। अन्य देशमा सेयर बजारमा आउने समस्याको कारणहरूको खोजी गरी निकारणको प्रयास गरिन्छ। अर्थतन्त्रको ऐना मानिने पुँजीबजारप्रति यहाँको सरकार पनि अन्य देशझैं सकारात्मक बन्नु पर्छ।

विभिन्न परिस्थितिले बजारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। देशको राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय आर्थिक मन्दी, प्राकृतिक प्रकोप, तरलता र सरकारको पुँजीबजारप्रतिको दृष्टिकोण, समयसमयमा हुने नीति नियम परिवर्तन, तथा बजारकोभावना विपरीत समयसमयमा फैलने अफवाहले बजारलाई घट्न बल पु¥याएका हुन्छन्।

नेपाली पुँजीबजारमा नयाँ–नयाँ कम्पनीहरू थपिने र सोही अनुपातमा सेयर संख्या थपिने क्रम बढ्दो छ। सेयर संख्या थपिँदै जाने तर बजारको विस्तार नहुने कारण बजारमा नकारात्मक असर परेको छ, विकास एवम् विस्तारमा प्रतिकूल असर परेको छ। बैंकमा आउने तरलताको कारण बजारमा नकारात्मक असर पर्छ। लगानीकर्ताको अर्को टाउको दुखाइको विषय मार्जिन कल पनि हो। कहिलेकाहीँ बैंकहरूले लगानीयोग्य पुँजीको कृत्रिम भुत देखाइ बेलाबेलामा सेयर बजारमा चलखेल हुने गरेको छ।

बजार पूर्वाधारहरूमा सुधार तथा विकासका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले पछिल्लो समय बजारमा उल्लेखनीय सुधारका काम गरेको छ  तर, ती सुधार पर्याप्त छैनन्। पुँजीबजारमा नीतिगत, भौतिक र प्राविधिक पाटाहरू अझै सुधार गर्नुपर्ने ठाउँ छन्।

प्रशिक्षण तथा जनचेतना अभिवृद्धिलाई क्रमिक रूपमा बढाउँदै लैजानु पर्ने देखिन्छ। बजारका बारेमा ज्ञान कमी नहुँदा पुँजी भएर पनि सेयर बजारमा आउन चाहने लगानीकर्ता हच्किनुपर्ने स्थिति छ। सर्वसाधारणमा सेयर साक्षरताको कमी छ। लगानीकर्ताले उठाएका जायज मागको सम्बोधन यथोचित समयमा नहुने र सरकारी पक्ष जिम्मेवारीबाट विमुख रहँदा पुँजीबजार अस्थिर देखिन्छ।

अभिभावक मानिने सरोकारवालाको घाँटी अठ्याउने नीतिले पुँजीबजार थिलथिलो भएको छ। तर, लगानीकर्तामा अपेक्षाको चाङ छ।

सेयरको मूल्य घट्दा कोहीकोही सेयरको कुरा सुन्नेबित्तिकै नाक खुम्च्याउँछन्। सेयरबारे जानकारी नै नभएकाहरूले समेत निरन्तरको बढ्दो बजारसँगै चासो देखाउने गरेका छन्। सेयर बजारलाई कतातिर डोहो¥याउने भन्ने कुरा लगानीकर्ताको मनोविज्ञानले नै तय गर्ने विषय हो। एक दिन बजार घट्दा ‘लगानीकर्ताले यति गुमाए’ र बजार बढ्दा ‘यति कुम्लाउन सफल भए’ भन्ने जस्ता समाचार सम्प्रेषण गर्ने मिडियाहरूले लगानीकर्तालाई सबैभन्दा बढी भ्रमित र आशावादी बनाउने गरेका छन्। यसरी पत्याउनै नहुने शीर्षकका समाचारमा पनि ध्यान पु¥याउनुपर्ने देखिन्छ।

निरन्तर घट्दो बजारमा गुमनाम रहेका र दुलोभित्र पसेर हराइरहेका बजार पण्डितहरू दुई चार दिन बजार बढ्नेबित्तिकै ‘बजारले आफ्नो बाटो तय ग¥यो’, ‘अब छिट्टै यति सय चुम्छ, उति सय सय चुम्छ’ जस्ता धुन बजाउन थाल्छन्। यस्तो गतिविधि देख्दा पण्डितहरूले खर्बौंको बजारसँग लंगुरबुर्जाको जस्तो व्यवहार गरेको महसुस हुन्छ।

सेयर बजार दुई दिनको बजार होइन। दुईचार दिन बढ्दैमा अब संसारै जितिने, दुईचार दिन घट्दैमा संसारै सकिने पनि हैन। बजारको आफ्नै लय हुन्छ, आफ्नै चाल हुन्छ। विभिन्न परिस्थितिले बजारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। सेयर बजारमा लगानीकर्ताका दुई प्रमुख शत्रु हुन्, लोभ र डर-त्रास। यसबाट हामी सदैव टाढा बस्नुपर्छ।

लोभ : बजार बढ्दा अब सधैं बढ्छ, बढी नै रहन्छ, कुनै बेला घट्छ पनि भनेर सोच्ने फुर्सद नै हुँदैन। 

डर वा त्रास : बजार घट्दा अब सधैं घट्छ, घटी नै रहन्छ, कुनै दिन अवश्य बढ्छ भन्ने विश्वास हुँदैन।

बजार सधैं बढ्दैन अनि सधैं घट्दैन पनि। बढेपछि घट्छ, र घटेपछि बढ्छ पनि। बजारका दुई प्रमुख शत्रु चिनेर समयअनुसार चल्ने लगानीकर्ता नै बजारबाट कमाउने र सधैं टिकिरहन्छ।

जहाँ अवसर हुन्छ, त्यहाँ चुनौती अवश्य हुन्छ। सेयर बजारलाई जति अवसरको खानीको रूपमा लिइन्छ, त्यस्मा चुनौती पनि हुन्छन् भन्ने हामीले बिर्सनु हुँदैन।

आफूसँग भएको राम्रो कम्पनीको सेयर मूल्य सोचेजस्तो नबढ्ने तर आधारभूत पक्ष कमजोर भएका कम्पनीको मूल्य तीब्र बेगले बढ्दा आफ्नो सुनलाई पित्तल सम्झेर र पित्तललाई सुन सम्झेर पोर्टफोलियो परिवर्तन गर्नेहरू धेरै भेटिन्छन्। यो सोच सबैभन्दा घातक हो। हल्लाको भरमा जस्तोसुकै कम्पनीमा पनि आँखा चिम्लेर लगानी गर्ने लगानीकर्ता पनि त्यत्तिकै भेटिन्छन्। र, तिनै मृत्युको मुखसम्म पुग्ने गरेका पनि छन्।

आफूसँग भएको धातु सुन हो कि होइन, आफैंले चिन्न सक्नुपर्छ। बजारमा पित्तलको भाउ घट्न लागेको हल्ला सुनेर आफ्नो सुनलाई पित्तलको भाउमा बेच्न हतारिनु पनि लगानीकर्ताको बेवकुफी हुन जान्छ। आफूले बलियो र दिगो स्क्रिप्ट छान्नुपर्छ, कम जोखिम भएको चिन्न सक्नुपर्छ।

यूवा भनेको सिंगो देश बोक्ने बलिया मेरुदण्ड हुन्, ऊर्जाले भरिएको युगको सुन्दर बिहानी हुन्। आजका युवा भोलिका कर्णधार हुन्, भोलि सबै क्षेत्रको नेतृत्व लिने अहिलेका युवाले नै हो। त्यसैले युवाहरू सेयर बजारमा आबद्ध हुनु एकदमै जरुरी छ।

युवाहरूले निम्न कुरा बुझ्नुपर्छः

१. युवा अवस्थामा कमाउन नसकिएला तर यो बेलाको बचत नै कमाइ हो भन्ने कुरा युवाहरूलाई सिकाउन जरुरी छ।

२. युवा अवस्थामा युवायुवती कुलतमा लाग्ने गरेको पाइन्छ। विकल्प नहुँदाको परिणाम हो यो। सेयर बजारको लत कुलतको विकल्प हुन सक्छ।

३. थोरै रकमले व्यापार व्यवसाय गर्न सकिन्न तर सानोभन्दा सानो बचत पनि सेयरमा लगाएर आम्दानी गर्न सकिन्छ।

४.सुरुमै धेरै कमाउन नसकिएला तर यो समय कमाउने भन्दा पनि सिक्ने, बुझ्ने अभ्यस्त हुने बेला हो। 

५. पढाइमा धेरै समय खर्चिनुपर्ने हुँदा अन्य कामको लागि समय नहुन सक्छ। तर सेयर बजारलाई धेरै समय आवश्यक रहँदैन।

६.पत्रपत्रिका, मिडिया, सामाजिक सञ्जाल, साथीभाइबाट पनि सेयर बजारबारे जानकारी लिन सकिन्छ।

७.युवा अवस्थामा खर्च गर्ने मात्र थाहा हुन्छ। आम्दानी र बचतमा अरूको भर पर्नुपर्ने हुँदा यस बारे केही थाहा हुँदैन र थाहा पाउन आवश्यक पनि ठानिँदैन। तर यही बेलादेखि आम्दानी, खर्च, बचत र यसको व्यवस्थापनबारे ज्ञान लिए अभिभावकमा आर्थिक भार कम हुनेछ। यसको लागि यस्ता व्यावहारिक सीप आर्जन गर्ने थलो हो।

पछिल्लो समयमा आएर सेयर बजारमा युवा युवतीको संलग्नता बढ्दै गएको छ। खाजा खर्च, फजुल खर्च कटाएर सेयर बजारमा लगानी गर्ने गरेको पाइन्छ। जुन राम्रो कुरा हो। वास्तवमा विद्यालय तहदेखि नै सेयर शिक्षा आवश्यक छ, पाठ्यक्रममा पनि यसलाई समावेश गर्नुपर्छ।

सरकारले मातहतमा रहेका निकायलाई नतिजामुखी काम गर्न दबाब सिर्जना गर्ने हो भने नेपाली पुँजीबजार आधुनिक, प्रविधिमैत्री, अन्तर्राष्ट्रिय स्तरको र सबैको पहुँचमा पुग्न सक्छ। तर, बेलाबेलामा लिने गलत निर्णय र दिने गलत अभिव्यक्तिका कारण लगानीकर्तामा अन्योलता सिर्जना भई सेयर बजार बारम्बार कोमामा पुगेको छ। आम लगानीकर्ताको भावनामा गम्भीर असर पार्दै पुँजीबजारलाई निरुत्साहित बनाएको पाइन्छ।

बजार विस्तारको कार्य र रणनीतिक काम अवरुद्ध हुँदा तथा नियमनकारी निकायको उदासीनताले पुँजीबजारमा बेलाबेलामा गम्भीर समस्या आउने गरेको छ, लगानीकर्ताको बीचमा चरम निराशा आउने गरेको छ। जसकारण ५० लाखभन्दा बढी लगानीकर्ताको सम्पत्तिको सुरक्षामा गम्भीर चुनौती देखा पर्छन्। यसैले पनि सरकारी पक्षले पुँजीबजारलाई हेर्ने दृष्टिकोण स्पष्ट र सकारात्मक हुनुपर्छ।

पोखरेल, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.