मुस्ताङमा हिउँ पर्यो, जाडो बढ्यो
जोमसोम : मुस्ताङका उच्च लेकमा सोमबार राति हिमपात भएको छ। उपल्लो मुस्ताङ हिमपात हुँदा यो वर्ष जाडो ह्वात्तै बढेको छ।
समुद्री सतहको ३ हजार मिटरदेखि माथिको क्षेत्रमा असोजमै हिमपात भएको हो। जिल्लाको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका क्षेत्रमा सोमबार राति आंशिक हिमपात भएको लोमान्थाङ गाउँपालिकाका कर्मचारी उदय तिमिल्सिनाले जानकारी दिए। लोघेकर दामोदरकुण्डको घिलिङदेखि माथिल्लो उत्तरी क्षेत्र कोरलासम्म हिउँ परेको उनले बताए।
उपल्लो मुस्ताङमा असोजमै पहिलोपटक हिउँ परेको गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए। हिमपात भएसँगै बस्तीमा हिउँ जम्न नसके पनि खेतबारी र डाँडाकाँडा हिउँले सेताम्मे भएको अध्यक्ष गुरुङको भनाइ छ। उपल्लो मुस्ताङमा हिउँ परेसँगै चिसो ह्वात्तै बढेको छ।
उपल्लो मुस्ताङका अधिकांश नागरिक हिउँदमा जाडो छल्न बेंसी झर्ने परम्परा छ। उनीहरू मंसिर लागेपछि जाडो छल्न र घुम्ती व्यापार गर्न बेंसी झर्ने सदियौंदेखिको प्रचलन छ। तर, यस वर्ष उपल्लो मुस्ताङीहरू जाडो छल्न बेंसी झर्न नपाउँदै हिउँ परेको हो।
उपल्लो मुस्ताङमा असोजमै हिउँ परेको यो पहिलो घटना भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उल्लेख गरे। यसअघि कात्तिकको दोस्रो हप्तादेखि वैशाखसम्म हिउँ परेकोमा यो वर्ष असोजमै हिउँ पर्दा आश्चार्य लाग्दो तुल्याएको अध्यक्ष विष्टले सुनाए।
यसैगरी, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ क्षेत्रमा पनि हिमपात भएको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए। हिउँ परेसँगै मुक्तिनाथ क्षेत्रको पाखो हिउँले सेताम्मे भएको उनले बताए। ‘राति अबेरसम्म बाक्लै खालको हिउँ परेको थियो , जमिन अझै तातै छ’, उनले भने, ‘यसैले परेको हिउँ जम्न पाएन, मुक्तिक्षेत्रको पाखोमा परेको हिउँ अझै देख्न सकिन्छ।’ विगत २० वर्षदेखि मुक्तिनाथमा काम गर्दै आएका सुवेदीले असोजमै हिउँ परेको आफूले पहिलोपटक देखेको बताए।
यसैगरी, उपल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा सोमबार राति हिमपात हुँदा तल्लो मुस्ताङमा वर्षा भएको थासाङ—२ सौरुका स्थानीय सोजन हिराचनले जानकारी दिए। जोमसोमदेखि तलको क्षेत्रमा आंशिक वर्षा भएको उनले बताए। मुस्ताङमा वर्षासँगै हिउँ परेकाले यहाँँको रैथाने बालीले फाइदा पुग्ने कृषकहरूले बताएका छन्।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको वातावरणीय क्षेत्र असमान प्रकारको देखिन थालेको छ। जलवायु परिवर्तनको असरले यहाँँका कृषि, पर्यटन र जैविक विविधतामा समेत नकारात्मक प्रभाव देखिन थालेको छ। कुनै वर्ष भारी हिमपात हुने, कुनै वर्ष कम हिमपात हुने र कुनै वर्ष हिउँ नपर्ने जस्ता प्राकृतिक घटना सिर्जना हुँदा हिमाली क्षेत्रको जीवन शैलीमासमेत असर पर्न थालेको जानकारहरू बताउँछन्। गत वर्ष हिमपात नहुँदा स्याउ खेतीमा ठूलो असर पारेको कृषि ज्ञानकेन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले बताए। गत वर्ष स्याउको बगैंचा व्यवस्थापन र काँटछाँट गर्ने बेलामा हिउँ नपरेको र वैशाख र जेठ महिनामा स्याउको परागसेचन हुने बेलामा भारी वर्षाले स्याउ खेतीमा ठूलो असर पारेको केन्द्र प्रमुख बस्ताकोटीले उल्लेख गरे।