त्यसबेला हिँडुवा दसैं थियो। यतिबेला गुडुवा दसैं छ। किनभने भेडा, च्याङ्ग्रा हिँडाएर ल्याउँथे र बेच्थे अहिले गाडीमा ल्याउँछन्। दसैंमा ती च्याङ्ग्रा टुँडिखेलनेर बेच्थे।
आमाहरूले ढिकीमा कुटेर चिउरा गाग्रा र घ्याम्पोमा राखेको हुन्थ्यो। तर, चिउरा खान पाउँदैनथ्यौं, बास्ना सुँघेर अघाउँथ्यौं।
अति भएपछि चोरेर खान्थ्यौं। निफनेर राखेको हुँदैनथ्यो, भुससँगैको चिउरा हातैमा फुकेर खान्थ्यौं। हाम्रो जुग अर्कै जुग थियो।
नोटको चलन थिएन। मोहोर सुकी महंगा हुन्थे। दुई पैसा, चार पैसा दक्षिणा पाइन्थ्यो। जुत्ता भए मोजा हुँदैनथ्यो। मावलीघर पुगेर आउँदा खुट्टाभरि फोको उठ्थे ताथली पुगेर आउँदा। घाउ हुन्थ्यो।