मुस्ताङका किसान फापर भित्र्याउन व्यस्त
जोमसोम : मुस्ताङका किसान फापर भित्र्याउन व्यस्त छन्। हिमाली जिल्लाको महत्वपूर्ण खाद्यबाली रहेको फापर असोज/कात्तिकमा काट्न सुरु गरिन्छ।
समुन्द्री सतहको १९८४ मिटर अग्लो उचाईदेखि ३९०० मिटरको अग्लो उचाईसम्मको खेती योग्य जमिनमा फापर खेती गरिने कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए। मुस्ताङमा उवा, जौ, मकै, आलु, बोडी लगायत खाद्यबालीका अलावा फापर खेती पनि मुख्य थकाली परिकारको ब्रान्ड बनेको कार्यालय प्रमुख बस्ताकोटीको भनाइ छ। अन्य खेतीको तुलनामा फापर खेती कम झन्झटिलो भए पनि मुस्ताङका किसानले केवल घरायसी प्रयोजन र देश-विदेशमा बस्ने आफन्तलाई कोसेली पठाउन फापर खेती गर्ने गरेका छन्।
मुस्ताङको मुख्य उत्पादन रहेको रैथाने फापर खेती मुस्ताङको ५ वटै स्थानीय तहमा हुने कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ। स्थानीयका अनुसार मुस्ताङको थासाङ-१ टुकुचे देखि माथि लोमान्थाङको सीमावती गाउँसम्म फापर खेती हुने गर्छ। मुस्ताङका किसानले यतिबेला खेतबारीमा फापर काट्ने, काटेको फापर खेतमै सुकाउने र खेतबारीमा फापरका केस्रा निकाल्न व्यस्त छन्। फापरको पिठो अहिले मुस्ताङमै एक पाथीको एक हजारदेखि १२ सयसम्म पर्छ।