अघि बढ्यो ३३ केभी सबस्टेसन निर्माण
जोमसोम : उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड—१ चराङ र बारागुङमा त्यस्तै मुक्तिक्षेत्र—३ चैलेमा नेपाल विद्युत् प्राधिकरणले ३३ केभी क्षमताका सबस्टेसन निर्माण गर्ने भएको छ।
मुस्ताङमा देखिएको विद्युतीय समस्या निराकरण गर्न र कोरला नाकासम्म विद्युतीय सेवा पुर्याउन प्राधिकरणले दुई सबस्टेसन निर्माण गर्न लागेको हो।
उपल्लो मुस्ताङको चराङ र चैलेमा ३३ केभी प्रसारण लाइनको सबस्टेसन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले ठेक्का आह्वान गरिसकेको प्राधिकरणका इन्जिनियर विमलराज रावतले जानकारी दिए।
उनका अनुसार मुस्ताङमा राख्न लागिएको दुई सबस्टेसनका लागि कात्तिक २ गते ठेक्का आह्वान गरेको थियो। उक्त ठेक्काको अन्तिम मंसिर १८ गते हुनेछ। लागत र सबस्टेसन निर्माण गर्ने कम्पनीको कार्यदक्षता मूल्यांकन गरी नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गर्ने तयारी भइरहेको इन्जिनियर रावतको भनाइ छ।
‘दुईवटा निर्माण हुने सबस्टेसनको लागत गोप्य राखेका छौं,’ इन्जिनियर रावतले भने, ‘ठेक्का प्रक्रिया टुंगिएपछि सबस्टेसनको लागत पनि त्यतिबेला खुल्नेछ।’